धनगढी–अत्तरिया छ लेन सडकको म्याद फेरी थप
2021/02/11, 12:33
 
dhan

कैलालीको मोहनापुल–अत्तरिया छ लेन सडक निर्माणको लागि फेरी म्याद थप भएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण निर्माणको काम पूरा नभएको भन्दै फेरी छ महिना म्याद थप गरिएको हो । मन्त्रिपरिषद्ले आयोजना हेर्दै आएका कार्यालयले नै छ महिनासम्म म्याद थप गर्न सक्ने निर्णय गरेपछि छ लेनको म्याद थपिएको हो । मोहना पुलदेखि बोराडाँडीसम्म रहेको पहिलो खण्डको म्याद गएको मंसिर ६ गते सकिएको थियो भने जेठ ६ गतेसम्मका लागि म्याद थप भएको आयोजना कार्यालयका इन्जिनीयर लक्ष्मण रावलले बताए । 

बोराडाँडीदेखि गेटासम्म रहेको दोस्रो खण्ड र गेटादेखि अत्तरिया चौकसम्मको तेस्रो खण्डको म्याद माघ १५ गते सकिएको थियो । दुवै खण्डका लागि २०७८ साउन १५ गतेसम्म म्याद थप भएको उनले बताए । यसअघि, तोकिएको अवधिमा निर्माण पूरा नभएपछि पटकपटक म्याद थप गरिएको थियो । यो सडकको कुल लागत रकम एक अर्ब ६५ करोड रुपियाँ रहेको छ । निर्माण कार्यमा हालसम्म ८३ प्रतिशत प्रगती भइसकेको आयोजनाको कार्यालयले जनाएको छ ।