आमाको आर्तनाद: ‘कपडा गोठमा राखें, यादहरू कहाँ राखूँ  ?’
2021/02/14, 11:23
 
death

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी द्रोपती भट्टको घरमा सान्त्वना दिनेको भीड भइरहन्छ । ११ दिनदेखि उनका आँखा ओभाएका छैनन् । भेट्न आएका मानिसका कुरा सुन्दै आँसु झारिरहने द्रोपती छोरी भागरथीलाई सम्झेर भक्कानिरहन्छिन् । 

अघिल्लो बुधबार (माघ २१) बिहान सधैंझैं विद्यालय गएकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट (बिहीबार) घरनजिकैको जंगलमा शव फेला परेको थियो । अहिलेसम्म त्यसमा संलग्नको पहिचान हुन सकेको छैन । परिवारजनले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएकाले उनको दाहसंस्कार हुन सकेको छैन । 

श्रीमान्को मृत्युपछि बरखी बारिरहेकी द्रोपतीलाई छोरीले छाडेर जाँदाको पीडा खपिनसक्नुभएको छ । साथमा भएकी एउटै छोरीको मृत्युपछि उनको सहारा टुटेको छ । उनलाई छोरीले नै सम्हालिरहेकी थिइन् । ११ दिनदेखि उनले खाना खान सकेकी छैनन् । भन्छिन्, ‘छोरीको शव अस्पतालमै छ । म घरमा कसरी खाना खाऊँ ?’

दिनभरजसो बन्द रहने उनको सानो घरको ढोका साँझपख उनी आफैं खोल्छिन् । ढोका खोल्दा छोरीको सम्झना झन् गाढा भएर आउँछ । ‘छोरीका कपडाले झस्काउने गरेकाले गोठमा राखेकी छु, कपडा गोठमा राखे पनि यादहरू कहाँ राखुँ ? बोलाउँछु तर छोरी आउँदिन,’ द्रोपतीले भनिन्, ‘कसरी मार्‍यो होला बैरीले, अन्तिम पटक के भनी होली ? गरिबका छोरीहरूलाई बाँच्नै गाह्रो रैछ ।’

बुबाको काजकिरिया सकेर भारत जाँदा छोरा केशवले आफूलाई भागरथीको भरमा छाडेको उनले बताइन् । ‘छोरीमाथि पापीहरूले आँखा लगाए, अनि यो अवस्था आयो,’ उनले भक्कानिँदै भनिन्, ‘घरका सबै काम उसैले सम्हालेकी थिई । गाई, गोरु, बाख्रा सबै पालेकी थिई । दाउराको खलियो बनाएकी छ । अब कसरी उसले बनाएका दाउरा बालौं ?’ घटनापछि गाई, बाख्रा स्याहार्न सकेकी छैनन् । गाउँलेले सघाइदिएका छन् । घटनालगत्तै भागरथीका दाजु केशव घर फर्केका छन् ।

अपराधी छिट्टै पक्राउ परेर जेल गएको हेर्ने इच्छा रहेको द्रोपतीले सुनाइन् । ‘सबैले दोषी पत्ता लाग्छ भन्दा आस लाग्छ तर मेरी छोरीको पनि निर्मला पन्तको जस्तै हालत हुन्छ कि ? शंका लाग्छ,’ उनले भनिन् ।

छोरीको मृत्युपछि भाउजूलाई सम्हाल्नै गाह्रो भइरहेको द्रोपतीकी नन्द रत्ना भट्टले बताइन् । ‘खाना पकाएर पनि छोरीलाई बोलाउने र त्यत्तिकै छोड्ने गर्नुहुन्छ,’ उनले भनिन्, ‘छोरी गुमाएपछि कति पीडा हँदोरहेछ भन्ने भाउजूको अवस्था हेरेर अनुभव गरेका छौं । अब दोषी चाँडो पत्ता लागोस् भन्ने चाहना छ ।’

भागरथी बेपत्ता भएको शनिबार ११ औं दिन बित्दा पनि घटनामा संलग्नको पहिचान नहुँदा परिवारलाई अपराधी उम्किन्छ कि भन्ने आशंका उब्जिएको छ । ‘कतै दोषी छुट्छन् कि भनेर यदाकदा शंका लागिरहेको छ, धेरै दिन भयो केही पत्ता लागेको छैन, प्रहरी प्रशासनले भने पत्ता लगाउँछौं भनेको छ, आशा त छ,’ भागरथीका काका शिवराज भट्टले भने । गाउँमा यसअघि भएका यस्तै घटनाका दोषीहरू पनि पत्ता नलागेकाले शंका बढेको उनले बताए ।

अनुसन्धान साँघुरियो: प्रहरी

प्रहरीले भने अपराधीलाई छिट्टै सार्वजनिक गर्ने बताउँदै आएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी अझै खोचलेक प्रहरी चौकीमै अनुसन्धानको नेतृत्व गर्दै बसिरहेका छन् । दोषी पत्ता लगाई सार्वजनिक गरेर मात्र खोचलेकबाट निस्कने उनले सुनाए ।

‘सुरुमा सूचना संकलन गर्न कठिनाइ भयो । पहिलेको भन्दा धेरै नजिक पनि पुगेका छौं । अनुसन्धानकै क्रममा रहेकाले सबै सूचना बाहिर दिन मिल्दैन, हामीले दायरा साँघुरो बनाइसकेका छौं,’ उनले भने, ‘सबै प्रमाण सुरुबाटै सुरक्षित रहेकाले शंका गर्नुपर्ने ठाउँ छैन । निर्मलाको जस्तो यो केसमा हँदैन ।’

शव अस्पतालमै

बैतडी जिल्ला अस्पतालले भागरथीको शवलाई जेनतेन व्यवस्थापन गरिरहेको छ । शव नउठ्ने भएपछि अस्पतालले काठको बाकसभित्र बरफमा राखेको छ । स्थानीयस्तरका स्रोतसाधन प्रयोग गरेर सुरक्षित राख्न सक्दो प्रयास गरिए पनि शव सुरक्षित राख्ने फ्रिज नहुँदा समस्या भइरहेको अस्पतालले जनाएको छ । हाल प्रयोग गरिएको स्रोतसाधनमा शवलाई धेरै दिन राख्न नसकिने अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताएको खबर कान्तिपुरले लेखेका छ ।