धनगढीमा प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार
2021/02/14, 1:49
 
स

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ । धनगढीस्थित बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित ह्रदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिदै प्रणय दिवस मनाइएको हो। 

हेप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारीका चालक, सह–चालक र एम्बुलेन्स चालकलाई गुलाफसँगै खादा ओढाएर सम्मान गरिएको छ भने सबैलाई चकलेट र किरिङ पनि प्रदान गरिएको छ। 

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीलाई पनि गुलाफ उपहार दिदै खादा ओढाएर सम्मान गरिएको छ। ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले एउटा/एउटा सिट्टी पनि दिइएको छ।   

कोभिडका बेला एम्बुलेन्स चालकले संक्रमितलाई निःशुल्क कोभिड अस्पतालसम्म पुगाउने काम प्रसंशनीय रहेको पनि उनले उल्लेख गरे। हेप्पीनेसले यातायात मजदुर संगठन, एम्बुलेन्स चालक संघ र ट्राफिक प्रहरी कार्यालयलाई मायाको चिनो पनि प्रदान गरेको छ।

कार्यक्रममा हेल्प फर हेप्पीनेस टिम सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग कोष, मोटिभेसनल टिम र भेटनरी टिमका सदस्यहरुको सहभागिता रहेको थियो।

यसअघि गत वर्ष हेल्प फर हेप्पीनेसले कैलाली कारगारका कैदीबन्दीहरुसँग प्रणय दिवस मनाएको थियो।