नरभक्षी बाघलाई ‘बेहोस’ बनाएर नियन्त्रणमा लिईने
2021/02/14, 7:45
 
death

कैलालीमा महिलाको ज्यान लिएको नरभक्षी पाटेबाघलाई बेहोस बनाएर नियन्त्रणमा लिईने भएको छ ।  बाघ नरभक्षी भइसकेकाले बेहोस गरेर नियन्त्रणमा लिनुको विकल्प नरहेको डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए । ‘यसको लागि माथिल्लो निकायसँग कुरा भइरहेको छ ।’ उनले भने । 

बाघले आज गौरीगंगा नगरपालिका–५ अण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान लिएको छ । शुक्रबार मात्रै बाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । घाइते उनको उपचार भइरहेको छ ।

केही दिनयता कैलाली जिल्लास्थित सामुदायिक वनमा ओहोरदोहोर तीव्र पारेको नरभक्षी पाटे बाघ खोजतलास गरि व्यवस्थापन गर्न स्थानीय प्रशासन आफैँ जुटेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको बताउँदै व्यवस्थापन गर्ने बताए । 

यसैबीच गौरीगंगा नगरपालिकाकाले सो पाटे बाघ व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिलाई पत्रकार गरेको छ । नगर प्रमुख भीम देउवाले नगरवासीलाई सो बाघले त्रासित पार्नुका साथै ज्यान लिएकोले आवश्यक प्रक्रिया अनुसार हटाउन वा व्यवस्थापनको विकल्पको लागि पत्राचार गरेको जानकारी दिए ।