कैलालीमा आतंक मच्चाईरहेको नरभंक्षी बाघ मार्न स्थानीय प्रशासनले दियो आदेश
2021/02/15, 10:26
 
tt

कैलालीमा आतंक मच्चाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ । जिल्ला सुरक्षा समिति कैलालीको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो ।

मानिसहरुमाथि आक्रमण गरिरहेको बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल भइरहेको बताएको छ ।

यसैबीच बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाघको प्रभावित क्षेत्र जिल्लाको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा सुरक्षा बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए । 

आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि बाघले आक्रमण गरेको थियो । सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेको थियो ।

गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो ।