कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा लिन प्रशासनको आदेश, नभए मारिने 
2021/02/15, 1:14
 
death

कैलालीमा पाटे बाघले मुभमेन्ट बढाएपछि नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश दिएको छ । जिल्ला सुरक्षा समिति कैलालीले बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई आदेश दिएको बताए । नरभक्षी पाटे बाघलाई सकेसम्म बेहोस बनाएर नियन्त्रणमा लिएर संरक्षण क्षेत्र वा चिडियाखानामा राख्ने र नभए मार्न आदेश दिने बोहराले बताए ।

नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल गरिरहेको कार्यालय प्रमुख रामचन्द्र कडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले पाटे बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेको बताउँदै भने, `जिल्लाको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा सुरक्षा बढाएका छौ ।´

आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको थियो । गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो ।