बाघको आक्रमणबाट ज्यान गुमाएकी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने
2021/02/15, 5:36
 
corona

बाघको आक्रमणबाट ज्यान गुमाएकी कैलाली, गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी कला धामीको परिवारलाई क्षतिपूर्ति वाफत १० लाख रुपैयाँ दिइनेछ । 

मृतकका परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति वाफतको रकम दिने डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए । ‘वन्यजन्तुले मानवीय क्षति गरेमा नेपाल सरकारले क्षतिपूर्ति वाफत १० लाख रुपैयाँ दिने व्यवस्था छ’, उनले भने । ‘मृतकका परिवारले १० लाख रुपैयाँ पाउनेछन् ।’ 

आइतबार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएको बेला बाघले आक्रमण गरी धामीको ज्यान लिएको थियो । यसैगरी, बाघले घाइते बनाएको व्यक्तिलाई पनि उपचार खर्च दिइने कँडेलले बताए । घाइते वा अङ्गभङ्ग भएकाहरुलाई पनि सरकारले क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । 

यस्तै, नरभक्षी बाघको त्रास बढेपछि सामुदायिक समन्वय समिति मसुरियाले बढैपुर–राजिपुर, बढैपुर–उदासीपुर सडक खण्डमा जथाभावी हिडडुल नगर्न स्थानीयलाई आग्रह गरेको छ ।