अछामको चौरपाटी गाउँपालिकाले कैलालीमा ल्याएको अर्गानिक कोदो प्रतिकिलो ४५ रुपैँयाका दरले किन्न पाईने भएको छ । गाउँपालिकाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिकिलो ४५ रुपैँयाका दर विक्रि गरिने जानकारी दिए हो ।
गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदका अनुसार कोदो आजदेखि अत्तरिया र धनगढीबाट विक्रिवितरण गर्न थालिएको छ ।उनले खुद्रा पसलहरु मार्फत आजदेखि अत्तरिया र धनगढीको कैलाली मोडल स्कुल नजिकबाट विक्रिवितरण गर्न थालिएको जानकारी दिए । बजारमा विक्रिको लागि ५ किलो, १० किलो र १५ किलोको प्याकमा कोदो राखिएको छ ।
गाउँपालिकाको केन्द्रबाट होलसेलमा कोदो खरिद गर्न चाहनेको लागि प्रतिकिलो ३५ रुपैँया तोकिएको छ । भने धनगढीमा होलसेल किन्न चाहाने नागरिकका लागि ४० रुपैँया र फुटकरमा किन्ने नागरिकलाई प्रतिकिलो ४५ रुपैयाका दरले तोकिएको छ ।
तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्रकमा कोदो भरेर निर्यात गर्ने आफ्नो उद्धेश्य रहेको अध्यक्ष साउँदको भनाई छ । गाउँपालिकाकाले यस बर्षदेखि 'फल्याको कोदो, कुट्याको धान' कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमले गाउँपालिकामा कोदो उत्पादनमा उल्लेख्य वृद्धि आउनुका साथै किसानको आर्थिक अवस्था सुधारमा पनि ठुलो टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।
गाउँपालिकामा फलेको अर्गानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले 'फल्याको कोदो, कुट्याको धान' कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेका थिए ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने हुदाँ कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ । कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका विरामीहरुको लागि पनि उपयुक्त वालीको रुपमा कोदो लाई चिनिएको छ ।