दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारबाट बालुवा निकाल्न रोक लगाइएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको छेउछाउबाट बालुवा झिक्ने काम नगर्न सूचना जारी गरेको छ ।
नदी नियन्त्रण आयोजनाले पटकपटक तटबन्धको संरचना क्षेत्रबाट मनोमानी ढंगले बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने÷गराउने काम नगर्न अनुरोध गरेपनि नदी जन्य स्रोतको दोहन रोकिएको छैन ।
जेसीबी, स्काभेटर र ट्याक्टरहरु नदी किनारसम्म लगेर बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने कार्यहरुले निर्माणधीन तटबन्धमा क्षति भइरहेको महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख शोभाकर पौडेलले बताए । तटबन्ध संरचनालाई असर पर्ने ढंगले नदीजन्य स्रोतको दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने उनको भनाइ छ ।
महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाले जिल्ला सदरमुकाम बचाँउ कार्यक्रम अन्तरगत निर्माणाधीन तटबन्ध संरचनाको नमस्कार देखि लास्कुखोला बंगाबगड सम्मको क्षेत्रमा गिट्टी, बालुवा उत्खननमा रोक लगाएको छ । तटबन्ध क्षेत्रमा हालसम्म थुपारिएको बालुवा समेत खाली गर्न भनिएको पौडेलले बताए ।
दार्चुला सदरमुकाम खलंगाको विरेन्द्र वन, डुमपानी क्षेत्र र बंगाबगड क्षेत्रमा दैनिक सयौं व्यक्तिले तडबन्धको तल गएर महाकाली नदीबाट बालुवा, गिट्टी निकाल्दै आएका छन् । अधिकासं मानिसले तटबन्ध क्षेत्रमै बालुवा जम्मा गरेर राखेका छन् । निरन्तर नदीजन्य पदार्थको दोहन बढेपछि दार्चुला सदरमुकामलाई सुरक्षित गर्न निर्माण गरिएको तटबन्ध संरचना नै जोखिममा परेको छ ।
महाकाली र चौलाली नदीका साथै विभिन्न खोलाहरुबाट मापदण्ड विपरित गिट्टी, बालुवा निकाल्ने क्रम बढ्दै गएकोले विभिन्न वस्तीमा बाढिको जोखिम बढेको छ । जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय तहहरुले नदीजन्य पदार्थको दोहन रोक्न तथा उत्खनन कार्यलाई व्यवस्थित गर्न नसक्दा नदी तटीय क्षेत्रमा तत्कालीन र दीर्घकालीन समस्याहरु उत्पन्न भइरहेको स्थानीय पदम बडालले बताए ।
गोरखापत्रबाट साभार