भागरथीको हत्या भएको १७ औं दिनमा दाहसंस्कार हुँदै, गोठालापानीबाट सेरासम्म शवयात्रा हुने
2021/02/19, 11:04
 
death

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।  हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । 

भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । 

दीपकले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो । भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।