बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथीको महाकालीमा अन्त्येष्टि
2021/02/19, 4:02
 
death

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शुक्रबार दाहसंस्कार गरिएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गरिएको हो ।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै एक किशोरलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

बिहीबार आरोपित किशोरका बाबु, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा उनले आरोपित किशोरले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

बलात्कार र हत्या आफैँले गरेको उनले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझेको हो । घरपरिवाले शव बुझेपछि गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

२१ माघमा विद्यालयबाट घर जान हिँडेकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा घरनजिकै रहेको स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।