फुलेको तोरी टिप्न नपाई ओइलिइन भागरथी 
2021/02/20, 4:02
 
aama

शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्केका केशवलाई आमा समाल्न गाह्रो भईरहेको छ । आमा द्रोपति छोरीले बारीमा लगाएको तोरी फूलेको देखेर छिन छिनमा भक्कानिएर रुन्छिन् ।

भागरथीको याद आउने घरका सबै वस्तु हटाए पनि बारीमा फूलेको तोरी कहाँ लगेर राख्नु ? भागरथीका दाजु केशवले भने । ‘फूलेको तोरी टिप्न नपाउँदै आफै ओईलिएर गई’, केशवले भने । ‘घर खर्च चलाउन बाख्रा पनि पालेकी थिएन्, वस्तुभाउ उसैको जिम्मा थिए ।’ 

चडेपानी गाउँबाट डेढ घण्टाको सडक दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव निकालेर भागरथीका दाइ केशवले महाकालीमा अन्त्येष्टि गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहना थियो तर, आमा द्रोपतिलाई आफन्तले हेर्न जान दिएनन् ।

श्रीमानको मृत्युपछि सेतो पहिरनमा रहेकी द्रोपतिलाई छिमेकी र नजिकका नातेदार रातदिन सम्झाउन घरमा आइरहन्छन् तर, एकपछि अर्को बज्रपातले द्रोपति एकोहोरो टोलाएर रोइरहन्छिन् । घरमा कहाँबाट को आउँदैछन् ? केही थाहा छैन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको जन्म २०५९ साल वैशाखमा भएको थियो । आमा द्रोपति निरक्षर छिन् । सामान्य लेखपढ गर्न जान्ने बुवा कृष्णानन्द भट्टको मधुमेह रोगका कारण किड्नीमा समस्या देखिएपछि उपचार गराउन नसक्दा उनको तीन महिनाअघि धनगढीमा मृत्यु भयो ।

घरको एक मात्र सहाराको रुपमा रहेका कृष्णानन्दको मृत्यु भएपछि परिवारको मेरुदण्ड नै भाँचियो । बुवाको किरिया सकेर घर खर्च चलाउन २० वर्षीया केशव भट्ट सेतो पहिरनमा रहेकी विधवा आमा द्रोपतिलाई १७ वर्षीया बहिनी भागरथीको जिम्मा छोडेर यही माघ ४ गते मजदुरी गर्न भारत गएका थिए । 

गरिबीका कारण कक्षा १० सम्म मात्र अध्ययन गरेर बुवा कृष्णानन्दले पछ्याउँदै गरेको बाटो ‘ईण्डियाको चौकीदारी’ अर्थात् भारत गएर ज्याला मजदुरी गर्ने बाटोमा मोडिएका केशव आफूले पढ्न नसके पनि बहिनी भागरथीलाई उच्च शिक्षा पढाउने धोको थियो ।

‘खर्चको जोहो गर्नकै लागि विधवा आमालाई बहिनीको सहारामा छाडेर झोला बाकेर भारत लागेको थिए’, केशवले भने–‘सबै सपना चकनाचुर भयो । माघ ४ गते भारत गएको हुँ । २१ गते बहिनी हराएको खबर सुने । २२ गते बलत्कारपछि हत्या भएको समाचार सुने । मुगलानबाट रुँदै कसरी घर आईपुगे केही थाहा छैन ।’ चरम गरिबी, त्यसमाथि रोगी बुवा उपचार नपाएर बितेको पीडा । घर छाडेर परेदेशिएका दाइ ।

घरमा विधवा आमा, यी सबै पीडा सहेर पनि भारथी भट्ट चडेपानी गाउँबाट एक घण्टा पैदल हिँडेर खोचलेक बजार नजिकै रहेको सनातन धर्म माविमा अर्थशास्त्र विषय पढ्ने गर्दथिन् । जन्मदै गरिबी झेलेकी भागरथीको अर्थशास्त्र विषय पढ्ने धोको थियो । पढाईमा गाउँकै अब्बल विद्यार्थी थिईन् भागरथी । नियमित विद्यालय जाने भागरथी घरको अवस्थाका कारण पढाई सकेर चाँडै घर फर्किने गर्दथिन् । 

समयमै विद्यालय आउने जाने भागरथी माघ २१ गते बुधबारका दिन अबेरसम्म पनि घर नफर्किदा आमा द्रोपतिको मनमा चिसो पस्यो । भागरथीले पालेका बाख्रा, गाई गोरु पनि भागरथीकै बाटो हेरिरहेका थिए । भागरथीले पढाई गरेर बचेको समय निकालेर घरमा पाँच वटा बाख्रा, तीन गाई, तीन बाच्छा, एक भैंसी र एक हल गोरु पालेकी थिइन् । 

भर्खरै ब्याएका तीन वटा बाख्राका पाठा आँगनमा अहिले पनि लडिबुडी गरिरहेका छन् । एउटा गोठसहितको सानो घर छ । घर नजिकैको गहुँको बारीको डिलै डिलमा तोरी फूलेको छ । ‘आँगनमा बाख्राका पाठा खेल्दा, बारीमा फूलेको तोरी देख्दा आँखाबाट आँसु रोकिदैनन््’ आमा द्रोपतिले भनिन्–‘दिन त रोएर काट्छु । रात बिताउँन साह्रै पीडा हुन्छ ।’ श्रीमानको मृत्युुपछि सेतो पहिरनमा बसेकी आमा द्रोपतिलाई मेलापात देखि साँझ–बिहान सघाउने भागरथी नै थिईन् । घरधन्दा, मेलापात र खेतीपातिको जिम्मेवारी पनि भागरथीकै काँधमा थियो ।

फूल जस्ती छोरीमाथि पापीको आँखा लागेपछि निमोठेर प्राण लिएपछि बाँच्न गाह्रो भएको द्रोपतिले पीडा सुनाइन् । माघ २१ गते विद्याबाट घर फर्किदा बेपत्ता भएकी भागरथीको भोली पल्ट २२ गते गाउँ नजिकैको लडालेक जङ्गलमा शव फेला परेको थियो । 

बैतडी प्रहरीले भागरथीको हत्या भएको १३ दिनपछि यही फागुन ५ गते बुधबार भागरथीको हत्या आरोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि परिवारलाई सुरुमा पत्याउनै गाह्रो भयो । आरोपी दिनेश भट्ट भागरथीकै भाइ ताना पर्ने थिए । अझ उमेर र पढाईमा पनि कान्छो थिए । हत्यामा दिनेशको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउँदै परिवारले केही दिन शव बुझ्न मानेनन् ।

अरोपित दिनेश भट्टले फागुन ६ बिहीबार आफ्नै घरपरिवारका सदस्य मध्येका बुवा, सरकारी वकिल र अनुसन्धानमा सरिक प्रहरी अधिकृतका सामु बलात्कारपछि आफूलेनै हत्या गरेको स्वीकारगरेपछि भागरथीको शव बुझेर महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको आफन्त शिवराज भट्टले बताए । 

विहीबार अभियुक्त दिनेश भट्टको बयानका आधारमा लडाकेल जङ्गलबाट भागरथीले प्रयोग गर्ने गरेको घडी फेलापरेपछि घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 
गोरखापत्रबाट साभार