कैलालीको धनगढी उपमहानगरपालिका– ३ विशालनगरका ५७ वर्षीय भीमबहादुर सार्कीले सडक पेटीमा जुत्ता चप्पल सिउन र जुत्ता पालिस गर्न थालेको करीब २२ वर्ष भयो । वैशाख–जेठको उखरमाउलो गर्मी होस् या पुस माघको कठ्याङ्ग्रिदो चिसो, उनलाई त्यसको कुनै प्रवाह नै हुँदैन । उनको ध्यान आज कति कमाइ हुने हो र त्यसले परिवारको पेट पाल्न सक्छु कि सक्दिन भन्नेमै हुन्छ ।
अरूको जुत्ता पालिस गरेरै उनले ६ जनाको परिवारको रोजीरोटी चलाइरहेका छन् । ‘२२ वर्षसम्म सडक पेटीमा अरूका जुत्ता पालिस गर्दा पनि आफ्नो अवस्था फेरिएन’, उनले भने, ‘दिनमा दुईतीन सय पनि मुस्किलले कमाइ हुन्छ, त्यो त साँझबिहान खानै ठिक्क हुन्छ ।’
सडक पेटीको व्यापार भएकाले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफूले बस्ने ठाउँ नै नपाएको उनको गुनासो छ । ‘सडक पेटीमा नै जीवनको यति लामो समय बिताएँ, यही पेशाबाट नै मेरो घरपरिवार चलेको छ’, उनले भने, ‘अब सडकपेटीबाट नहटाए हुन्थ्यो। सडकबाट रोजीरोटी चल्छ, सडक पेटीकै बढी माया लाग्छ ।’
उनी मात्रै हैनन्, धनगढी चोकमा बालकदेखि वृद्धसम्मका नागरिक भेटिन्छन् । डडेल्धुराको अजयमेरुकोटका ६० वर्षीय गंगाराम सार्कीले पनि धनगढीका सडक पेटीमा जुत्ता पालिस गर्दै गुजारा चलाइरहेका छन् । बुढेसकालमा छोराहरूले पनि एक्ल्याउँदा पेट पाल्न तराई झरेका उनको अन्तिम विकल्प सडकमै अरूका जुत्ता चप्पल सिउने र पालिस गर्ने बन्यो ।
पेट पाल्नकै लागि बुढेसकालमा जुत्ता चप्पल सिउन बाध्य उनी व्यापार नहुँदा कोठा भाडा तिर्न र परिवारको मुखमा माड लगाउन समेत मुस्किल परिरहेको गुनासो गर्छन् । धनगढी विशाल नगरका २४ वर्षे युवा वीरु सुर्खेती दिनभर धनगढी बसपार्कमा जुत्ता पालिसको काम गर्छन् ।
गरीबीकै कारण कक्षा आठबाटै पढाइ छाड्न बाध्य भएका उनी त्यसपछि जुत्ताचप्पल सिउने र पालिस गर्ने काम गर्न थाले । उनी मात्रै हैन, उनका बुवा र भाइ पनि धनगढीकै सडकपेटीमा जुत्ता पालिसको काम गर्छन् ।
कामलाई सम्मान गर्ने परिपाटी नहुँदा आफू पनि धेरै पटक हेपाइमा परेको उनको गुनासो छ । ‘घरका तीनैजना सडकपेटीमै काम गर्छौं’, उनले भने, ‘सडक पेटीको कमाइले घर खर्च चलाउन मुस्किल पर्छ, अब त पेशा नै त्यागेर रोजगारीका लागि भारत जाने सोच्दैछु ।’
‘यो पेशाबाट कहिलेकाहीँ ५र७ सयसम्म आम्दानी हुन्छ,’ उनले थपे, ‘कहिले त सय रुपैयाँ पनि हुँदैन । सडकमै जुत्ता पालिस गर्ने र सिलाउने हुँदा धेरैले हेयको दृष्टिले हेर्छन् । कसैकसैले राम्ररी नै बोलाउँछन्, सम्मान गर्छन्, तर कोही भने साह्रै हेपेर बोल्छन् ।’
‘वर्षौंदेखि धनगढीका सडक पेटीमा जुत्ता पालिस र फाटेका जुत्ता चप्पल सिलायौं, तर हाम्रो जीवनमा कुनै परिवर्तन आएन,’ धनगढीकै सडक पेटीमा जुत्ता पालिस गर्ने अमर सार्की भने, ‘हाम्रा लागि कुनै निश्चित स्थान छैन । सडक पेटी र नालाहरू नै हाम्रा व्यापारिक थलो हुन् । दिनभरि अर्काको जुत्ता पालिस गरेर पनि साँझ बिहानको छाक टार्नै मुस्किल पर्छ ।’
‘कठ्याङ्ग्रिँदो, जाडो र सडकको धूवाँधूलो त खेपेकै छौं, तर चिल्ला कारमा जुत्ता पालिस गर्न आउने कतिपय सुकिला मान्छेको तुच्छ व्यवहारले मन झनै खिन्न हुन्छ’, उनले भने ।
सरकारबाट असहयोग
सानो लगानी र असुरक्षित स्थानको व्यवसायले दैनिक खर्च धान्नै मुस्किल पर्ने उनीहरूको गुनासो छ । सडक पेटीमा व्यापार गर्न सरकारी क्षेत्रबाटै रोकावट भइरहेको बताउँदै उनीहरूले देशमा तीन तहको सरकार आए पनि आफूहरूमा समस्या जस्ताको त्यस्तै रहेको दुःखेसो पोखे ।
‘आम्दानीले दैनिक खर्च धान्नै मुस्किल छ,’ धनगढीको सडकमै भेटिएका भीमबहादुर सार्कीले भने, ‘सडकपेटीमा व्यापार गर्न उल्टै सरकारी क्षेत्रबाट रोकावट हुन्छ । सीप र क्षमता अनुसारको काम सरकारले दिए त सडकमा बस्न मन कसको हुन्छ र ’ । सरकारी तबरबाटै सीपलाई सम्मान गरी त्यही अनुसारको रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था भइदिए आभारी हुने उनको भनाइ छ ।
सडक पेटीमा नै जीवनको यति लामो समय बिताए पनि उनीहरूको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । सीप र क्षमता अनुसारको काम आफूहरूले नपाउँदा सडकमै बस्न बाध्य भएको उनीहरूको गुनासो छ । सरकारी तहबाटै सीपलाई सम्मान गरी त्यही अनुसारको रोजगारीको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ ।