कञ्चनपुरको ब्रह्मदेव बजार एक वर्षदेखि सुनसान
2021/02/21, 9:28
 
bazar

नेपाल भारत सीमा क्षेत्रमा रहेको कञ्चनपुरको ब्रह्मदेव बजारमा चहलपहल बढ्न सकेको छैन । कोरोना महामारी सुरु भएदेखि सुनसा नबनेको सो बजार एकवर्षदेखि सोही अवस्थामा रहेको छ ।  भारतसंग जोडिएका सीमा नाका सरकारले गत महिनानै खुलाउने भनेपनि केही नाका अझै खुलेका छैनन् ।

यस्तै सुदूरपश्चिम भित्रकै धार्मिक तथा पर्यटकीय नाकाका रुपमा चिनिने कञ्चनपुरको ब्रह्मदेव टनकपुर नाका पनि खुलेको छैन । नाका नखुलेका कारण भारतीय ग्राहकमा निर्भर ब्रह्मदेव बजारमा चहलपहल बढ्न नसकेको हो ।  

नाका नखुल्दा ब्रह्मदेव बजार सुनसान भएपछि स्थानीय व्यवसायी समस्यामा परेका छन् । कोरोना भाइरसका कारण भारतीय बजार टनकपुरसँग जोडिएको ब्रह्मदेव बजार चैत्र महिनाबाट बन्द छ । लामो समयदेखि बजार बन्द भएपछि यहाँका स्थानीयको व्यापार, व्यवसाय डामाडोल भएको छ । ग्राहक आउने बाटो नै बन्द भएपछि व्यापार, व्यवसाय धरापमा परेको स्थानीय व्यवसायी देबा विष्ट बताउँछिन् । ब्रह्मदेव बजार क्षेत्रमा २० वर्षदेखी श्रीङ्गार पसल थापेर व्यवसाय गर्ने उनलाई व्यवसाय नहुँदा पसलको भाडा तिर्न पनि धौधौ भएको छ ।

‘पसल थापेको वर्षदेखि अहिलेको वर्षसम्म आईपुग्दा अहिलेको जस्तो समस्या कहिले पनि भएन । व्यवसाय गर्ने आफैलाई नुन, तेल, तरकारी लगायतका घरमा चाहिले उपभोग्य साम्रगी किन्नलाई पनि पैसा छैन’, विष्टले भनिन्–‘पसल पनि भाडामा थापेको हो, विगतको वर्षदेखि भाडा पनि तिर्न सकेकी छैन, सिमानाका बन्द हुँदा पसल खोलेर पनि व्यापार हुँदैन, दिनभरी बसेर चित्त बुझाउनुपर्दछ ।’ 

सामान्य घर जग्गा समेत व्यवस्था नभएका ब्रह्मदेव क्षेत्रका व्यापारीलाई समस्या भएको छ । झण्डै एक वर्ष देखि बजार सुनसान भएपछि व्यापार नचल्दा घरखर्च चलाउन पनि दिनप्रति दिन असहज हुँदै गएको उनले बताइन् । 

ब्रह्मदेव बजार क्षेत्रमा सय बढी व्यापारीले व्यापार गर्दै आएका छन् । उनीहरुका ग्राहक भनेका मुख्यगरी भारतीय नागरिक हुन् । किनमेलका लागि नेपालीको पहुँच क्षेत्र नभएकोले ब्रह्मदेव बजारसँग जोडिएको सिद्धबाबा (सिद्धनाथ मन्दिर) मन्दिरमा दर्शन गर्न आउने भारतीय नागरिकमा नै विगतदेखि यो बजार निर्भर रहेको छ । कोरोना महामारीका कारण सुरु भएको लकडाउन देखि धेरै व्यापारी भने व्यापार छोडेर घर गएका छन् । भने कतिपय व्यापारी बजारमै छन् । 

‘श्रीङ्गारको पसल छ । केही महिना सम्म त पुरानो पैसा भएकोले खर्च चलाउन सहज भएको अवस्था थियो’, विष्टले भनिन्, ‘अहिले आर्थिक अवस्था पनि एकदमै दयनीय भएको छ । कर्जा माग्न गएपनि विस्वास नगरेर कसैले दिन मान्दैनन्, दैनिक रुपमा खाना खान पनि समस्या भएको अवस्था छ ।’ विष्टको १ छोरा सहित ३ जनाको सानो परिवार रहेको छ । श्रीमान श्रीमतीले व्यापार चलाएर छोरालाई विदेश पठाएका उनको छोराको पनि कोरोनाका कारण विदेश बस्न नपाउँदै घर फर्कनु पर्याे । चौतर्फी रुपमा बेरोजगार भएपछि समस्या भएको छ । भएको व्यापार पनि धरासायी बन्दै गएको उनले दुखेसो पोखिन् । 

सीमानाका क्षेत्रमा जोडिएर व्यापार गरिरहेका धेरै जसो व्यापारी कोरोना महामारीको कारण अस्तव्यस्त अवस्थामा छन् । सरकारले नाका खुलेको भने पनि व्यवहारिक रुपमा अझै नाका बन्द नै रहेको छ । व्यापारीहरु नाका खुल्ने पर्खाईमा छन् । ब्रह्म्देव क्षेत्रमा फागुन पूर्णिमादेखि असार महिनासम्म पूर्णागिरी मेला लाग्ने गर्दछ । मेला सुरु भएको दिनदेखि मेला समाप्त नहुनजेलसम्म भारतीय नागरिकको आउजाउले ब्रह्म्देव बजार एकदमै व्यस्त रहने गर्दछ । मेलाको समय ब्यस्त हुने ब्रह्मदेव बजारका व्यापारी मेला सुरु भएको महिना दिनमै वर्षभरीको गर्ने कमाइ गर्ने गर्दछन् । तर यसपटक पूर्णागिरी मेला पनि लाग्ने निश्चित नभएपछि ब्रह्मदेव क्षेत्रका व्यापारीमा चिन्ता थपिएको छ । 

‘विगतको वर्षमा मेला सुरु भएको मितिमा ब्रह्मदेव बजारमा केही चहलपहल बढेको अवस्था थियो । कोरोना भाइरसले गर्दा मेला प्रभावित भएपछि बन्द हुन पुग्यो ।’ अर्का व्यापारी इन्द्रसिंह धामीले भने, ‘सीमानाका बन्द हुँदा यस वर्ष पनि मेला हुने चहलपहल देखिएको छैन । व्यापार पनि दिनप्रतिदिन सुक्दै गएको छ ।’ व्यापार कमजोर हुँदा व्यापारी पनि विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

पछिल्लो समय कोरोना महामारीको संक्रमण दर घट्दै गएकोले भारतीय नागरिक सहज रुपमा आउन पाउने गरी नाका सहज बनाउनु पर्ने स्थानीय व्यापारी धामीको भनाई छ । प्रत्येक वर्ष ब्रह्मदेव क्षेत्रमा लाग्ने पूर्णागिरी मेलामा दैनिक एकदेखि दुई लाखसम्म भारतीय नागरिक बैजनाथ मन्दिरमा दर्शन गर्न आउने गर्दछन् । मेलाको समयभर ब्रह्मदेव बजारमा अधिकांश नागरिकले मेलाकै कारण रोजगारी पनि पाउने गर्दछन् ।

यस्तै, यता उद्योग वाण्ज्यि संघका अध्यक्ष जंग बहादुर मल्लले भने ब्रह्मदेव क्षेत्र भनेको धार्मिक महत्व बोकेको क्षेत्र भएकोले धार्मिक क्षेत्रका गतिविधि रोकिएका कारण व्यापारीलाई समस्या भएको बताए । नजिकिदै गरेको पूर्णागिरी मेलालाई मध्यनजर गरेर व्यवसाय सञ्चालन गर्ने ब्रह्मदेव क्षेत्रका व्यापारी नाका बन्द हुँदा आर्थिक समस्यामा पनि परि रहेको उनले बताए । 

अध्यक्ष मल्लका अनुसार लामो समयदेखि बजार क्षेत्र बन्द हुँदा घर बहाल कर, घरभाडा लगायत विभिन्न कर तथा कर्जाको ब्याज तिर्नुपर्ने समस्या रहेको उनको भनाइ छ । ‘ब्रह्मदेव बजार भनेको पूर्ण रुपमा धार्मिक रुपमा आस्था भएका धार्मिक पर्यटकबाट चल्ने एउटा सानो बजार हो जुन ठाउँमा धार्मिक मेलाको बेलामात्रै व्यापारीको व्यवसाय फस्टाउने गर्दछ ।’ अध्यक्ष मल्लले भने, ‘गएको वर्ष मेलाको लागि ल्याएको सामान पनि बिक्री भएको अवस्था छैन ।

सामान बिक्री नहुँदा सड्ने तथा कुहिने समस्या एकातिर छ भने अर्काेतिर कर्जा निकालेर ल्याएको सामान बिक्री नहुँदा ब्याज तिनुुपर्ने समस्याले व्यवसायी समस्यामा छन् ।’ निजी क्षेत्रले सीमानाका क्षेत्रका व्यवसायीको समस्या बुझेको र नाका खुलाउने विषयमा प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष पहल कदमी भैरहेको उनले बताए । 

पूर्णागिरी मेलाका लागि सहज गरिने
ब्रह्मदेव क्षेत्रमा लाग्ने पूर्णगिरी मेलाको लागि आउजाउमा सहज गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धार्मिक आस्था भएका नेपाली तथा भारतीय नागरिकका लागि नाका क्षेत्रमा सहजताको लागि मन्त्रालय स्तरमा कुरा अगाडि बढेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नेपाली पक्षबाट नाका खोल्नको लागि आवश्यक पहल भएको छ । ‘औपचारिक रुपमा ब्रह्मदेव बजारसँग जोडिएको भारतीय क्षेत्रसँगको टनकपुर नाका आधिकारिक नाका नभएपनि पूर्णागिरी मेलाको अवसरलाई मध्यनजर गरेर सरकारी पक्षबाट सहजताका लागि सकारात्म पहल भएको छ ।’

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘भारतीय पक्षसँग कुरा हुन बाँकी रहेको छ । भारतीय पक्ष पनि नाका खोल्न तयार भएपछि पूर्णागिरी मेलाको समायवधिसम्म सहज हुने व्यवस्था मिलाउने प्रयासमा हामी केन्द्रित भएका छौं ।’ 

मेला अवधिभर नाकामा सहज गरेर बह्मदेव आउने तिर्थयात्रीको लागि बह्मदेव क्षेत्रसम्म मात्रै आउन पाइने गरि व्यवस्था मिलाउन सकिने प्रमुख जिल्ला अधिकारी महतोले बताए ।