बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियासहितको आकस्मिक प्रसूति सेवा सुरु
2021/02/21, 11:56
 
da

बाजुराको दुर्गम कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियासहितको आकस्मिक प्रसूति सेवा सुरु भएको छ । कोल्टीमा यो सेवा सुरु भएसँगै बाजुरा, हुम्ला, कालीकोट र मुगुका नौवटा स्थानीय तहका बासिन्दालाई सहज हुने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा. अर्जुनप्रसाद तिवारी, स्त्रीरोग विज्ञ डा. दिल शाही रोकालगायतको प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले शुक्रबार पहिलो सफल शल्यक्रिया गरेको हो ।

यो टोलीले मुगुको खत्याड गाउँपालिकाकी २९ वर्षीया निर्मला चदाराको शल्यक्रिया गरी प्रसूति गराएको थियो । ‘अपरेसन गर्ने सुविधा यहाँ नभएका कारण सालसालै हाम्रा दिदीबहिनीहरूले ज्यान गुमाउँदै आएका छन्,’ बुढीनन्दा–२ कोल्टीकी संगीता विष्टले भनिन्, ‘अब कोल्टीमै अपरेसन हुने भयो भन्ने खबरले हामी सबै खुसी भएका छौं ।’