सुदूरपश्चिममा तीन ठुला जलविद्युत् आयोजना निर्माण हुँदै
2021/02/22, 10:32
 
hydro

सुदूरपश्चिम प्रदेश सरकारले २२ दशमलव ४३ मेगावाट मेवा विद्युत उत्पादन क्षमताका तीन ओटा जलविद्युत आयोजना निर्माण गर्दैछ ।

दार्चुलामा ६ दशमलव ९७ मेगावाट विद्युत उत्पादन क्षमताको नौगाड जलविद्युत आयोजना, बैतडीमा ७ दशमलव ७१ मेगावाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना र सुर्नयागाडबाटै ७ दशमलव ७५ मेगावाट विद्युत उत्पादनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

६ दशमलव ९७ मेवा क्षमताको नौगाड र ७ दशमलव ७५ मेवा उत्पादन क्षमताको सुर्नयागाडबाट प्रदेश सरकारले विद्युत उत्पादनका लागि प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनसहित विस्तृत संभाव्यता अध्ययनको काम भइरहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, ७ दशमलव ७१ मेगावाट विद्युत उत्पादन क्षमताको सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनसहित विस्तृत संभाव्यता अध्ययनका लागि मरामर्शदाता छनौटको लागि मूल्यांकनको काम भइरहेको मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी समालिरहेका त्रिलोचन भट्टले जानकारी गराए ।

प्रदेश सरकारले वैकल्पिक उर्जाको विकास र प्रवर्द्धनका लागि समेत पूर्व संभाव्यता अध्ययनको काम सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्ष २०७८/७९ देखि तीनओटै आयोजनाबाट गरी कुल २२ दशमलव ४३ मेगावाट विद्युत उत्पादनका लागि श्रोत सुनिश्चिततासहित निर्माण प्रक्रिया थालिने मन्त्रालयले जानकारी दिएको छ । प्रदेशभित्र हाल विद्युतको माग ७० मेगावाट रहे पनि उत्पादन भने साढे ४९ मेगावाट मात्र भइरहेको छ ।

नेपाल सरकारले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना, दार्चुलामा अपि पावर कम्पनीले निर्माण गरेको ८ मेगावाट र अपिले नै उत्पादन गरेको १ दशमलव ५ मेगावाट र कापडीगाडबाट निजीक्षेत्रले उत्पादन गरेको ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिमको कुल विद्युत् उत्पादन ४९ दशमलव ५ मेगावाट पुगेको हो ।

प्रदेशका ९ ओटै जिल्लामा गरी नेपाल विद्युत् प्राधिकरणले ६४ दशमलव ६९ प्रतिशत घरधुरीमा नियमित विद्युत् आपूर्ति गर्दै आएको विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदीश जोशीले बताए । त्यस्तै राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाईबाट थप ४ दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएपछि प्रदेशवासी विद्युत समस्याबाट करीब करीब मुक्त हुने उनले बताए ।

सो आयोजनाबाट चालू आवभित्रै सक्ने गरी जलविद्युत् आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । जलविद्युत् आयोजनाको पावर हाउसको राफ्ट फाउन्डेसन, बाइपास च्यानल तथा टेलरेस निर्माण सकिएको छ ।

आयोजनाका इन्जिनियर अरुणकुमार साह चालू आवभित्रै ४ दशमलव ७१ मेगावाट विद्युत उत्पादन क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने बताउँछन् ।