निर्मला हत्याकाण्ड : शंकास्पद नयाँ ‘लोकेसन’को अनुसन्धानमा जुट्यो प्रहरी
2021/02/22, 12:17
 
nirmala

 कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ वर्ष बितिसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । लामो अनुसन्धानपछि पनि अभियुक्तको ‘क्लु’ पाउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् । उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । 

तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । 

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर साढे दुईवर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन ।

अन्य कयौं घटनाको अनुसन्धानमा सफलता प्राप्त गरे पनि निर्मला हत्याकाण्डमा सफलता प्राप्त नहुँदा प्रहरीको समेत आलोचना हुँदै आएको छ ।

प्रहरीले पछिल्लो समय निर्मलाको आउजाउ हुने गरेका स्थानमा निगरानी सुरु गरेको प्रहरीले जनाएको छ । 

उच्च प्रहरी अधिकारीले भने,“पुरानो अनुसन्धान छँदैछ । त्यसबाट त्यति सफल हुन सकिएन । अब निर्मला कहाँ कहाँ जान्थिन् । उनको निकटता को–कोसँग थियो त्यतापट्टि अनुसन्धान केन्द्रित गरेका छौं । केही शंकास्पद लोकेसनको निगरानी पनि सुरु गरेका छौँ ।”

कतिपय अवस्थामा अझै स्थानीयले अनुसन्धानमा सहयोग नगरेको प्रहरी गुनासो छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले समेत ३ महिनाभित्र अनुसन्धान सक्नेगरि काम गर्न निर्देशन दिएको बताइएको छ ।

निर्मला हत्यामा पनि चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका छ । प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । 

तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रहरीले निर्मलाको शव भेटिएको अवधिमा भारत र बाहिर गएकाहरुको निगरानी पनि सुरु गरेको जनाएको छ । प्रहरीले हालसम्म ८० जनाको डीएनए परीक्षण गरिसकेको बताइएको छ ।  बाह्रखरीबाट