कैलाली र कञ्‍चनपुरबाट भइरहेको पेट्रोल तस्करी रोक्‍न एसएसबीको निर्देशन
2021/02/22, 3:18
 
oil

भारतमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएपछि सीमा क्षेत्रबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । कैलाली र कञ्‍चनपुरको सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी बढेपछि निगरानी बढाउन एसएसबीले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

सशस्त्र सीमा बलको ४९ औं बटालियन डेपुटी कमान्डर अमनदीप सिंहले नेपालबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा निगरानी बढाउन निर्देशन दिएका हुन् ।पिलिभित र खिरी जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा तैनाथ रहेको ४९ औं बटालियनको ६ कम्पनी कमाण्डरलाई पेट्रोल, डिजेलको तस्करी हुन नदिनका लागि निगरानी बढाउन निर्देशन दिएका हुन् । पिलिभित र खिरी नेपालका कञ्‍चनपुर र कैलालीसँग सीमा जोडिएका भारतीय जिल्ला हुन् ।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि नेपालबाट ठूलो परिमाणमा पेट्रोल र डिजेल तस्करी हुन थालेको हो । डेपुटी कमाण्डर सिंहले सीमा क्षेत्रमा रहेका नेपालका पेट्रोल पम्पहरुको विवरण संकलन गर्नसमेत निर्देशन दिएका छन् ।

नेपालमा पेट्रोलको मूल्य ७१ भारतीय रुपैयाँ पर्छ भने डिजेलको मूल्य ६१ भारतीय रुपैयाँ पर्छ । पिलिभित सीमा क्षेत्रबाट मोटरसाइकल, ट्याक्टर तथा ट्रलीहरुमार्फत पेट्रोल र डिजेल तस्करी हुने गरेकोले विशेष निगरानी गर्न निर्देशन दिइएको हो ।