सुदूरपश्चिममा प्रतिनिधि सभा पुनःस्थापनापछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा
2021/02/24, 11:10
 
police

प्रतिनिधि सभा पुनःस्थापना भएपछि सुदूरपश्चिममा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सुदूरपश्चिमका तीन वटै सुरक्षा निकायलाई ‘उच्च सतर्कता’ मा राखिएको छ । 

सुदूरपश्चिममा प्रहरी शसस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागलाई हुन सक्ने सम्भावित गतिविधिलाई ध्यानमा राखेर उच्च सतर्कतामा बस्न मातहतका निकायलाई निर्देशन दिईएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालय र प्रहरी एकाईलाई पुर्नस्थापनापछि सम्भावित परस्थितिको विश्लेषण गर्दै प्रदेशभर उच्च सुरक्षा सर्तकता अपनाईएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यता शसस्त्र प्रहरीलाई पनि मातहतका प्रहरी कार्यालय र युनिटलाई समेत तयारी अवस्थामा बस्न र सम्भावित स्थितिका लागि तयारी अवस्थामा बस्न निर्देशन दिईएको शसस्त्र प्रहरी कार्यालय बैजनाथ बाहिनी अत्तरियाले जनाएको छ । त्यसैगरी नेपाली सेनाका ब्यारेक तथा अन्य निकायहरुलाई हाई अलर्टमा बस्न परिपत्र गरिएको नेपाली सेनाले जनाएको छ ।  सेनाका अनुसार ब्यारेक तथा मातहतका निकायलाई हुनसक्ने सम्भावित खतरालाई लिएर त्यसका लागि रेडी अवस्थामा बस्न परिपत्रमा उल्लेख गरिएको छ । 

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनलाई बदर गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक ईजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको थियो ।  

नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तराष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री ओलीले विघटन सिफारिस गरेका थिए । सिफारिस गरेको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस सदर गरेकी थिइन् ।

सर्वोच्चको फैसलापछि नेपाली राजनिति तरंगित भएको छ । यसले ल्याउन सक्ने सम्भावित अवस्थालाई ध्यानमा राखेर सुरक्षा निकायलाई उच्च सर्तकताका साथ तयारी अवस्थामा राख्न निर्देशन दिईएको सरकारी अधिकारीहरुले जनाएका छन् ।