कञ्चनपुरको बतासे झरनामा पूर्वाधार निर्माण सुरु
2021/02/24, 3:50
 
अ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य सुरु गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य अगाडि बढाइएको छ । “पर्यटकीय क्षेत्रको विकासका लागि १० लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएका छौँ” वडाध्यक्ष बहादुर सिंह महराले भने, “झरनाको अवलोकन गर्न र झरनामा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गरी निर्माणको काम भइरहेको छ ।” 

आउँदो एक महिनाभित्रै सबै निर्माण थालिएका भौतिक पूर्वाधारका कार्य पूरा हुने उनले बताए । विशेषगरी झरना क्षेत्रमा नुहाउन आउने महिलालाई कपडा फेर्नका लागि निकै सास्ती हुने गरेको कुरालाई ध्यानमा राख्दै प्रदेशसभा सदस्य महेशदत्त जोशीको सिफारिसमा मन्त्रालयबाट बजेटको व्यवस्था गर्न सकिएको उनको भनाइ छ । 

“बतासे झरना पुग्ने पर्यटकले सडकको भरपर्दो व्यवस्था नहँुदा निकै सास्ती खेप्दै आएका थिए” उनले भने, “यसै कुरालाई मध्यनजर गर्दै झण्डै तीन किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य गरिएको छ ।”सडकको ट्र्याक खुलेपछि आधाभन्दा बढी बाटोमा मोटरसाइकल र जीपलगायतका साधनमा पुग्न सकिने भएको छ । आउँदो आवमा बजेटको व्यवस्था गरी सडकको स्तरोन्नतिको कार्य गरी पर्यटकको आवगमनलाई सहज बनाइने भएको छ । 

झरना क्षेत्रमा स्थानीय बासिन्दाले वर्षौँदेखि नीलकण्ठ बाबाको पूजासमेत गर्दै आएका छन् । यस क्षेत्रमा गरेको भाकल पूरा हुने जनविश्वास छ । प्रदेशसभा सदस्य जोशी परापूर्वकालदेखिनै यस क्षेत्रमा नीलकण्ठ बाबाको पूजाआजा गरिँदै आएकाले भव्य मूर्ति निर्माणका लागि आउँदो बजेटमा आवश्यक रकमको व्यवस्था गरिने बताउँछन् ।

“मूर्ति निर्माणको कार्यले धार्मिक पर्यटनलाई समेत यहाँ बढावा दिन सकिन्छ”, उनले भने, “यस कार्यले आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीय युवाले रोजगार पाउँछन् ।” बतासे झरना क्षेत्रमा दर्शनीय क्षेत्रका रूपमा नीलकण्ठ बाबाको थपना, नीलताल, झरना, दन्ते गुफालगायत रहेका छन् । 

योसँगै क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका सेना बस्ने प्राकृतिक ओढारसमेत रहेको छ । स्थानीय बूढापाकाका अनुसार सामन्ती विरुद्धको आन्दोलनमा सहभागी नेता पन्तका योद्धा यहाँका ओढारमा बस्ने गरेका थिए । ओढारमा अझै पनि योद्धाहरुले प्रयोग गर्ने सामान हेर्न सकिने बूढापाकाको भनाइ छ । 

दैनिक झरना अवलोकनका लागि २०० देखि ६०० आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । शनिबारलगायत बिदाको दिन आन्तरिक पर्यटकले झरना क्षेत्र भरिभराउ हुने गर्छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् । झरनाको पानी खसेर बनेको नीलो कञ्चन ताललाई स्थानीय बासिन्दाले नीलतालका रूपमा चिन्ने गरेका छन् ।

झण्डै २०० फिटमाथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भन्ने गरिएको वडा सदस्य लालबहादुर महराले बताए । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना झर्ने गरेको छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्नका लागि युवादेखि बूढापाकासमेत यस क्षेत्रमा पुग्ने गर्छन् । “झरनाको दृश्य अलौकिक छ”, मोहनसिंह धामीले भने, “झरनाको दृश्य हेर्नेहरु मन्त्रमुग्ध नहुने कोही छैन । झरनासँगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य नै हो ।”

यसैगरी वडा नम्बर ८ मा रहेको मणिका धाममा समेत सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत धार्मिकजनलाई मन्दिर क्षेत्रमा पुग्नका लागि पक्की बाटो निर्माण गरिएको छ । पाँच लाखको लागतमा पक्की बाटो निर्माण गरिएको हो । रासस