डोटीको नारीदाङदेखि धनगढीसम्म बस सेवा शुरु
2021/02/25, 11:12
 
bb

डोटीको दिपायल सिलगढी–८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका नागरिकले घरबाटै गाडी चढ्न पाउने भएका हुन् । कच्ची सडक निर्माण भएको दश वर्षपछि यातायातको सेवा पुगेको हो । 

शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्तरूपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गएको शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्म यातायात सेवा शुरु गरेका हुन् । नागरिकको सेवाका लागि आफूहरुले बस सेवा सञ्चालन गरेको शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले बताए । 

गाउँमा बस सेवा सञ्चालन भएपछि यहाँका नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउनमा पनि सहज हुने दिपायल सिलगढी–८ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । अहिले उक्त क्षेत्रबाट दैनिक एउटा शैलेश्वरी यातायत र अर्को सुन्दर सुदूरपश्चिम यातायात गरी दुईवटा बस सञ्चालन हुँदै आएको शैलेश्वरी यातायत प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए ।