मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको तेस्रो पटक म्याद थप 
2021/02/26, 9:58
 
sadak

निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको तेस्रो पटक म्याद थप भएको छ । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाको म्याद दोस्रो पटक एक वर्षका लागि थपेको थियो ।

दोस्रो पटक म्याद थप हुँदा ६ लेन सडकको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद २०७७ मंसिर ६ र दोस्रो तथा तेस्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो ।

उक्त म्याद सकिए सँगै माघ ११ गतेको मन्त्रपरिषदको निर्णय अनुसार कोरोना कहर र लकडाउनले निर्माण कार्यमा असर गरेकाले ६ महिना म्याद थप गर्ने निर्णय गरेको थियो । त्यसै बमोजिम मोहना–अत्तरिया ६ लेन सडक निर्माणको ६ महिना म्याद थप भएको मोहना–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले जनाएको छ ।

पटक–पटक सडक निर्माणको म्याद थप हुँदा ढिलाइ सँगै सडक निर्माण नहुँदा आवत–जावतमा समस्या हुदै आएको स्थानीयहरुले बताएका छन् । दोस्रो तथा तेस्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले थपेको म्याद भित्रै निर्माण कार्य सम्पन्न हुने दाबी गरे ।