जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन नसक्ने बताएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए । ‘टीकापुर घटना होइन’, पूर्वमन्त्रीसमेत रहेका नेता महतोले भने– ‘त्यो थारु समुदायको विद्रोह हो ।’ अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको उल्लेख गर्दै नेता महतोले थारु समुदायले अधिकार माग्नु के अपराध हो ? भनेर प्रश्न गरे ।
‘अरे, थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ?’ महतोले भने । ‘अधिकार माग्दा रेशम चौधरी, लक्ष्मण चौधरी जेल बस्नु पर्ने, १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ?’
टीकापुर आन्दोलनमा षडयन्त्र गरिएपछि दुःखद् घटना घटेको नेता महतोको भनाइ थियो । उनले थारु समुदायले उठाउँदै आएको माग, मुद्दामा आफ्नो पूर्ण साथ समर्थन रहेको बताए ।
महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय भएको बताए । उनले समाजका लागि लड्ने चौधरी र थारुले जेल जिवन बिताउँदा १७ हजारको ज्यान जाने गरि आन्दोलन गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई कुनै कारवाही नगरिएको आरोप लगाए ।