वन्यजन्तुलाई पानीका लागि वनमा कृत्रिम पोखरी निर्माण
2021/02/28, 4:30
 
pokhari

कैलालीका सामुदायिक वनमा वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ । सुख्खा याममा वन्यजन्तुले पानीका लागि सङ्घर्ष गर्नु पर्ने अवस्थालाई मध्यनजर गरेर सामुदायिक वन उपभोक्ता समितिले कृत्रिम पोखरी निर्माण गरेका हुन । 

जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक वनहरुमा कृत्रिम पोखरी निर्माण गरिएका छन् । कृत्रिम पोखरी निर्माणले वनमा रहेका वन्यजन्तुहरुलाई पानी पिउन सहज भएको उपभोक्ताले बताएका छन् । 

‘वनमा पानीको स्रोत नै थिएन’, मुक्त कमैया सामुदायिक वनका उपभोक्ता हिट्टु चौधरीले भने । ‘सुख्खा याममा वन्यन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र कृत्रिम पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गरेका छौं ।’ 

लम्कीचुहा नगरपालिका–३ मा रहेको सो सामुदायिक वन चुरेको फेदमा पर्दछ । बर्खा याममा यत्रतत्र पानी जम्ने गरे पनि हिउँद र सुख्खा याममा भने जमेका पानी सबै सुक्ने गरेको जनाइएको छ । वनमा पानी नभएको बेला वन्यजन्तुलाई समस्या हुन थालेपछि कृत्रिम पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्दै आएको चौधरीले पश्चिम टुडेलाई सुनाए । 

उनका अनुसार कृत्रिम पोखरी निर्माण नभएको बेला वनका वन्यजन्तुहरु पानीको खोजीमा कर्णाली नदीसम्म पुग्ने गरेका थिए । त्यो बेला वन्यजन्तुलाई मान्छे र कुकुरले लखेट्ने÷मार्ने गरेका थिए । ‘अहिले कृत्रिम पोखरी बनाएर हामीले वन वरिपरि तारबार पनि गरि दिएका छौं’, उनले भने । ‘अब वन्यजन्तुले वनमै पानी पिउन पाएका छन् ।’ 

सो सामुदायिक वनमा चितुवा, हरिन, बदेल लगायतका वन्यजन्तुहरुको बसोबास रहेको जनाइएको छ । सामुदायिक वन उपभोक्ता समितिमा ३०५ मुक्त कमैया र ४५ घरधुरी वादी समुदायका परिवार आवद्ध छन् ।  

यसैगरी, सोही नगरपालिकाको वडा नम्बर १ मा रहेको जनकल्याण सामुदायिक वनमा पनि वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ । सुख्खा याममा वनक्षेत्रमा पानी नरहने गरेकाले वनभित्र कृत्रिम पोखरी निर्माण गरिएको सो सामुदायिक वनका पदमराज न्यौपानेले बताए । 

‘हामीले वनमै भूमिगत बोरिङ पनि गाडेका छौं’, उनले भने । ‘पोखरीमा पानी सकिन थालेपछि बोरिङ चलाएर पोखरीसम्म पानी पु¥याउने व्यवस्था गरेका छौं ।’ चार लाख ७७ हजार रुपैयाँ लगानीमा भूमिगत बोरिङ र तीन लाख रुपैयाँ लगानीमा कृत्रिम पोखरी निर्माण गरेको जनाइएको छ । 

कृत्रिम पोखरी निर्माण गरिएपछि वन्यजन्तुहरु पानी पिउन पोखरीमै आउने गरेको न्यौपानेले जनाए । ‘वनमा चितुवा, चित्तल, बँदेल, निलगाई, बाँदर लगायतका वन्यजन्तु छन् । र, कहिलेकाँही बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ पनि आउँछन्’, उनले भने । ‘कृत्रिम पोखरी निर्माण भएपछि सबै वन्यजन्तु पानी पिउन सहज भएको छ ।’