जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
2021/02/28, 4:33
 
karagar

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।  पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए ।

“कैदीबन्दी बढी हुँदा बसोवास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”, उनले भने, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।”  कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोवासको व्यवस्था मिलाइएको छ ।

“दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोवासको व्यवस्था मिलाइएको छ”, उनले भने, “कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीलाई बसोवासको व्यवस्था मिलाइएको छ ।” 

जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ । जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भएपनि कोठा थपिएको छैन । 

एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ ।