पश्चिमी सीमा अझै बन्द, सास्ती झनै बढ्दो
2021/03/01, 12:53
 
pp

कोरोना महामारीका कारण बन्द भएका मुलुकका थुप्रै नाका खुलिसके पनि दार्चुलाका नाका भने अहिले पनि बन्द नै छन् । नाका बन्द हुँदा सर्वसाधारणले निकै सास्ती बेहोर्नु परिरहेको छ । दार्चुलामा नेपाल–भारत जोडिएका आधा दर्जन नाका छन् । त्यसमध्ये सदरमुकाम खलंगास्थित पुलघाट सीमा मात्र खोलिएको हो । व्यास गाउँपालिकाको तिग्रम पुल, सीतापुल, लेकमको लाली, मालिकार्जुनको जौलजीवी र महाकाली नगरपालिकाको दत्तु पुल अझै बन्द छन् ।

यहाँका बासिन्दा उपचार, बजार र मजदुरीका लागि सीमापारिको भारतीय बजारमै निर्भर छन् । नजिकको नाका नखुल्दा सदरमुकाम पुगेर भारत जान अप्ठ्यारो भएको लेकम गाउँपालिका–३ लालीका रामसिंह थापाले बताए । उनको गाउँमै झोलुंगे पुलबाट महाकाली वारपार गरिँदै आएको थियो । ‘स्थानीयको कारोबारदेखि घरायसी सम्बन्ध पारि नै बढी छ,’ उनले भने, ‘गाउँको पुल नखोल्दा सदरमुकाम पुगेर वारिपारि गर्न खर्च र समय बर्बाद भइरहेको छ ।’ गाउँमा कोरोनाको समस्या नभए पनि नाका बन्द गरेर दुःख मात्रै भइरहेको उनको भनाइ छ ।

गत सोमबार मालिकार्जुन गाउँपालिका–७ स्थित जौलजीवी सीमा पुल खोल्न स्थानीयले प्रदर्शन गरेका थिए । भारतले आफ्नो क्षेत्रबाट सीमानाका खुला गरेको भए पनि नेपाली पक्षले नखोल्दा समस्यामा परेको उनीहरूको भनाइ छ । सरकारले गत माघ ११ गते भारतको पिथौरागढ जिल्लाको धार्चुलासित सीमा जोडिएको पुलघाट नाका खोल्ने निर्णय गरेको थियो । त्यहाँबाट तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न मात्र भारत जान पाइन्छ । अरू नाका खोल्न गृह मन्त्रालयलाई अनुरोध पत्र पठाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।