धनगढीको नेशनल प्याथ ल्यावमा तोडफोड गरिएको छ । सेती प्रादेशिक अस्पताल अगाडि रहेको नेशनल प्याथ ल्यावमा सोमबार राति तोडफोड भएको सञ्चालकले आरोप लगाएका छन् ।
ल्यावका साझेदारहरुबीच आपसी विवाद हुँदा तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए । धनगढीका महेश जोशीले सोमबार राति ल्यावमै प्रवेश गरेर तोडफोड गरेको नेशनल प्याथ ल्यावका व्यवस्थापक हरि धामीले बताए ।
मदिरा सेवन गरेर जोशीले झण्डै ७ लाख बराबरको सामान तोडफोड गरेको धामीले बताए । यता जोशीले भने पनि आफूले ल्यावमा तोडफोड गरेको कुरा स्वीकार गर्दै मदिरा सेवन गरेको आरोप गलत भएको प्रतिक्रिया दिए ।
उनले आफू नेशनल प्याव ल्याबको शेयर सदस्य भएको भएपनि अहिलेसम्म प्रमाण पत्र समेत नदिएका कारण आपसी विवादका क्रममा घटना भएको बताए ।
आफूले शेयर प्रमाण पत्र, संस्थाको हिसाब किताब माग्दा व्यवस्थापक धामी र अध्यक्ष रुद्र कार्की एक अर्कालाई देखाएर पन्छिने गरेका बताए । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।