कन्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु
2021/03/04, 9:26
 
अ

कन्चनपुरमा नेपाल र भारतको सीमामा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको छ । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार  एक भारतीय तस्करको मृत्यु भएको हो । 

‘बेलौरी नगरपालिका वडा नम्बर ७ मा यो घटना भएको हो । यो क्षेत्र सीमा पिल्लर ३८ र ४२ को क्षेत्र हो । यो क्षेत्रलाई हामीले धेरै आपराधिक हुने क्षेत्रको रुपमा पहिचान गरेर सोहीअनुसार गस्ती बढाइरहेका हुन्छौँ,’ महतोले भने, ‘आज पनि हाम्रो प्रहरी गस्तीमा थियो । गस्तीमा रहेको प्रहरीमाथि तस्करहरुले फायर गरे । प्रहरीले जवाफी फायर गर्‍यो । प्रहरीको गोली लागेर एक जना घाइते भए । तीन जना भागे ।’

प्रजिअ महतोका अनुसार प्रहरीको गोली लागेर घाइते भएका भारतीयलाई उपचारको लागि नेपाल प्रहरीले स्थानीय स्वास्थ्य चौकी लगेका थिए । उनको त्यहीँ मृत्यु भएको उनले बताए ।  प्रहरीले नक्कली नोट बनाउने मेसिन, कागज, ३० ग्राम ब्राउन सुगर बरामद गरेको प्रजिअ महतोले बताए ।