कञ्चनपुरमा उद्योग दर्ता दोब्बरले बढ्यो 
2021/03/06, 8:49
 
udhag

कञ्चनपुरमा उद्योग दर्ता दोब्बरले बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका अनुसार उद्योग दर्ता विगतको वर्ष भन्दा यस वर्ष दोब्बरले बढेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ३४ उद्योग दर्ता गरेको घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७७÷७८ को माघ मसान्त सम्म मात्रै १ हजार ५ सय ३८ उद्योग दर्ता गरेको छ । 

उद्योग कार्यालयका अनुसार जम्मा  ४ ओटा लघु उद्योग, उद्योगमा दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका सूचना अधिकारी धर्मानन्द भट्टका अनुसार दिनप्रति दिन कार्यालयमा उद्योग दर्ता गराउन आउनेको सङ्ख्या बढ्दै गइरहेको छ ।

उनले कोरोना महामारीका कारण केही समय कार्यालय समेत बन्द रहेका कारण उद्योग दर्ता गराउने, उद्योग नविकरण गर्ने लगायतका कामको लागि आउनेहरुको चाप बढ्दै गएको छ । 

‘विगतको वर्षभन्दा यस वर्ष उद्योग दर्ता गराउने मानिसहरुको आर्कषण बढ्दो छ, विगतको वर्षको चैत्र महिना देखि असार सम्म लगभग कार्यालय बन्द रहेको अवस्था थियो ।’ घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका सुचना अधिकारी धर्मानन्द भट्टले भने,  ‘साउन देखि नियमित कार्यालय सुरु भैसकेपछि कार्यालयमा आउने सेवाग्राहीहरुको नियमित भीड बढिरहेको अवस्था छ ।’ 

साउन देखि कोरोना महामारीका कारण कुपन प्रणाली लागु गरेर नियमित कामकाज सुरु गरेको उद्योग कार्यालयले कामको चाप बढ्दै गएपछि कुपन प्रणाली हटाएको छ । कुपन प्रणाली हटाएपछि पनि कार्यालयमा भिड बढ्दै जाँदा नियमित कामकाज गर्न निकै चाप भैहरेको सूचना अधिकारी भट्टले पश्चिम टुडेलाई बताए ।

उनका अनुसार पछिल्लो समयमा सरकारले महिला उद्यमी हरुको लागि उद्योग दर्तामा गरेका छुटका कारण यस वर्ष उद्योग दर्ता गर्ने बढेका हुन् । यस्तै कार्यालयमा अहिले प्रत्येक दिन ३० देखि ६० जना सम्म सेवाग्राही पुग्ने गरेका छन् । कामको अत्याधि चाप सँगै उद्योग दर्ताको चाप पनि कार्यालयमा धेरै भएको घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले जनाएको छ । 

‘विगतका वर्षहरुमा उद्योग दर्ताको लागि आवश्यक चाहिने १२ हजार १ सय रुपैया राजस्व अहिले महिलाको नाममा दर्ता गरेपछि ६ सयमा दर्ता हुने गर्दछ ।’ सूचना अधिकारी भट्टले भने, ‘उद्योग दर्ता बढ्नुमा राजस्वमा आएको कमीले गर्दा पनि हो र यस्तै अहिले बैकले पनि महिनाको नाममा ब्याजदर सस्तो गरेका कारण उद्योग तर्फ आर्कषण बढ्दै गएको छ ।’

विगतको वर्ष जस्तो उद्योग दर्ता गर्नुपर्दा यस वर्ष भने विगतको वर्ष जस्तो झन्झट नभएको उनले बताए । यसैगरी उद्योग दर्ता गर्ने प्रक्रिया देखि लिएर उद्योगको अन्य क्षेत्रमा पनि सहजता आएका कारण कार्यालयमा उद्योग दर्ता गर्न आउने सेवाग्राहीको सङ्ख्यामा बढोत्तरी आएको छ । 

कुनै पनि उद्योग दर्ता गरेको ५ वर्ष सम्म नविकरण गर्नुपर्ने झन्झट हुँदैन । नविकरण गर्ने उद्योगले पाँचवर्षपछि मात्रै नविकरण गनुपर्ने प्रावधान भएकोले यता उद्योग दर्ता बढेपनि कति सञ्चालन छन् भन्ने विषयमा यकिन गर्न नसकिने उद्योग कार्यालयले जनाएको छ ।

उद्योग कायाृलय महेन्द्रनगरका अनुसार उद्योग दर्ता बढेपछि रोजगारी स्वतह बढ्ने भएपनि उद्योग सञ्चालनको अवस्था भने आसालाग्दो नभएको जनाएको छ ।