धनगढी–पोखरा हवाई सेवा सञ्चालनको माग
2021/03/07, 10:43
 
phokhara

सुदूरपश्चिम र गण्डकी प्रदेशका पर्यटन व्यवसायीले धनगढी–पोखरा हवाई सेवा सञ्चालनको माग गरेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि धनगढी–पोखरासम्मको हवाई उडान हुनुपर्ने उनीहरुले माग गरेका हुन् ।

‘जाउँ है पोखरा’ अभियानको क्रममा धनगढी आइपुगेका गण्डकी प्रदेशका पर्यटन व्यवसायीले सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीसंग छलफल गर्दै सडकभन्दा पनि हवाई सेवासंग जोडिए पोखरा र धनगढीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । 

‘अहिलेको अवस्थामा आन्तरिक पर्यटनको सम्भावना रहेकाले त्यसलाई प्रवद्र्धन गर्नका लागि आन्तरिक हवाई सेवा सञ्चालन हुनु पर्दछ’, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने । कोरोना भाइरसका कारण नराम्ररी प्रभावित पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि आन्तरिक पर्यटनलाई नै प्रवद्र्धन गर्न व्यवसायीले जोड दिएका छन् । 

कोरोनाका कारण बाह्य पर्यटक ल्याउन नसकिएको अवस्थामा आन्तरिक पर्यटक नै पर्यटनलाई अगाडि बढाउने आधार रहेको होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलम बमले बताए । ‘त्यसका लागि बरु, अन्तर प्रदेश पर्यटक पठाउने व्यवस्था गरौं’, उनले भने । कोरोना महामारीका कारण कैयौं महिना होटल व्यवसाय ठप्प रहेको थियो । त्यसैगरी, पर्यटन गतिविधि शून्य बनेको थियो । हाल स्थिति सहज बन्दै जाँदा आन्तरिक पर्यटक मुलुकको एक ठाउँबाट अर्को ठाउँमा घुम्न जान सक्ने वातावरण बनिसकेको जनाइएको छ । 

विदेशी पर्यटक आउन नसकिरहेको अवस्थामा पर्यटन विकासको आधार आन्तरिक पर्यटक नै रहेकाले आफूहरुले ‘जाउँ है पोखरा’ अभियान लिएर सुदूरपश्चिम आइपुगेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष तुलाचनले बताए । 

नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले पर्यटन विकासका लागि भारतीय पर्यटकलाई आकर्षित गर्र्नुपर्ने बताए । नजिकका भारतीय क्षेत्रका पर्यटकलाई मात्र भित्र्याउन सके यहाँको पर्यटक विकासमा ठूलो टेवा पुग्ने भट्टले बताए । भारतीय पर्यटकलाई धनगढी भएर पोखरा जान सहज हुने भएकाले दुई सहरबीच हवाइ सुविधा विस्तारका लागि निजि क्षेत्रले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता गोपाल हमालले हवाइ सुविधा नहुँदा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटक भित्र्याउन सुविधा र सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । 
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले राज्यले केही गर्ला भनेर पर्खनुभन्दा निजि क्षेत्रले मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।

पर्यटकीय क्षेत्रमा पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै उनले सरकारले होटेललगायतका पूर्वाधार निर्माणको जिम्मा निजि क्षेत्रलाई दिनुपर्ने बताए । यहाँका व्यवसायीहरुले पोखरा घुम्न आउने पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय स्थलको बारेमा पनि जानकारी गराइदिन पोखराका पर्यटन व्यवसायीलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका भोजराज पाठकले सुदूरपश्चिमले पोखराको पर्यटन व्यवसायबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले पर्यटन विकासका लागि ‘बिजनेश टु बिजनेश’ सम्बन्ध हुन आवश्यक रहेको औंल्याए । 

यसैगरी, पर्यटन उद्यमी दिनेशराज भण्डारीले आन्तरिक पर्यटनको विकासको संयुक्त प्रयास हुन आवश्यक रहेको बताए । उनले पर्यटन व्यवसायमा देखिएका गलत गतिविधिलाई सुधार गरेर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे ।आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटन व्यवसायीको टोली सुदूरपश्चिम पुगेको जनाइएको छ । छलफलमा पश्चिमाञ्चल होटल सङ्घ पोखराका पूर्व अध्यक्ष हरि शर्मा गैरे, होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीलगायतले बोलेका थिए ।