गौरीफन्टा र गड्डाचौकी नाका अझै सहज भएन
2021/03/10, 7:42
 
naka

कञ्चनपुरको अधिकार क्षेत्रमा पर्ने गड्डाचौकी र गौरीफन्टा अन्तर्राष्ट्रिय नाका अझै पनि सहज हुन सकेको छैन ।  कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाका सरकारले खोलेको भने पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने नाका नखुलेको जनाएको छ ।

सो कार्यालयका अनुसार भारतीय नागरिकलाई नेपाल आउनका लागि मुख्य नाकाहरु अझै पूर्णरुपमा खुलेका छैनन् । ‘कञ्चनपुरका मुख्य सीका नाकाहरु गड्डाचौकी र गौरीफन्टामा नेपाल सरकारको साविकको निर्णय अनुसार नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गर्न कुनै पनि समस्या छैन, नेपाल बाहिर जाने नेपाली नागरिकहरु पनि सहजै तरिकाले गइरहेका छन्’, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘भारतीय नागरिकहरुको हकमा स्थल मार्गबाट आउँदा प्राविधिक आयोजनामा काम गर्ने कामदारलाई सम्बन्धित आयोजना तथा उद्योगहरुको सिफारिसमा हामीले सहजिकरण गरेर नेपाल प्रवेश गर्ने व्यवस्था मिलाएका छौ ।’

अन्य भारतीय नागरिकको हकमा भने सीएमसी डट जीओभी डट एनपी मा गएर अनलाइन फाराम भरेमात्रै नेपाल प्रवेशको व्यवस्था मिलाएको उनले बताए । महतोले नाका पूर्ण रुपमा नखुलेको बताए । 

भारतसँग जोडिएको अर्काे नाका ब्रह्मदेव क्षेत्रमा भने नाका सञ्चालनको लागि भारतीय डीएम  र नेपाली पक्षबीच अध्ययन तथा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी महतोका अनुसार ब्रह्मदेव क्षेत्रमा लाग्ने पूर्णागिरीको मेलाको समयमा सीमा वारिपारि आवतजावत गर्नको लागि भारतीय र नेपाली पक्षबीच नाका सहजिकरण गर्ने समझदारी भएको छ । कञ्चनपुरका  अन्य नाकाको हकमा भने भारत आवतजावत गर्नको लागि नेपाली नागरिकलाई सहज गरिएको छ । गाडीसमेत लिएर जान सक्ने वातावरण बनाइएको छ । 

लामो समयदेखि बन्द रहेको कञ्चनपुरको पश्चिमी सीमानाका भारतले पुरानै  रुपमा खोलेको छ । उक्त नाका खुलेपछि नेपाली नागरिकले भने सहजै रुपमा भारत आवतजावत गर्न पाएका छन् । एक वर्षपछि नेपालीलाई भारत जान भारतीय पक्षले नाका खोलेको छ । नाका खोलेपछि  नेपाली नागरिकलाई  आवतजावतमा सहज भएको छ । 

यस्तै भारतीय पक्षले नेपाली नागरिकको हकमा भारत प्रवेश गर्नको लागि औपचारिक रुपमा शनिबार देखि गड्डाचौकि नाका खुल्ला गरेको छ सीमा नाका खुल्ला भएपछि एक वर्षदेखि सुनसान बनेको भारतीय सिमावर्ती बजारमा चहलपहल बढ्दै गएको छ । सीमावर्ती क्षेत्रका स्थानीय किनमेल, उपचार, रोजगारी लगायतका लागि भारत जाने गरेकाले नाका खुलेपछि सहज भएकोव्यापारी इन्द्र बमको भनाई छ ।  

भारतीय पक्षले नाकामा गरेको एकतर्फी सहजीकरणलाई नेपालीका लागि स्वागत योग्य निर्णय भएको  उद्योग वाण्ज्यि संघ कञ्चनपुरको भनाइ छ । नेपाली पक्षले पनि सीमा क्षेत्रमा सहज गनुपर्ने बताउँदै सीमा नाका क्षेत्रको स्थिति पनि सामान्य हुनुपर्ने उद्योग वाण्ज्यि संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लले बताए  । 

उनले भारतीय नागरिक साँस्कृतिक तथा धार्मिक पर्यटकको हिसाबले पनि नेपालसँग जोडिएका कारण उनीहरुका लागि नाका सहज बनाउनु पर्ने बताए । उनले निकट केही दिनमै भारतीय क्षेत्रसँग जोडिएर विभिन्न धार्मिक कार्यक्रम आयोजना हुने भएकोले पनि भारतीय पक्षले नाका सहज गर्नु राम्रो कार्य भएको बताए ।