कञ्चनपुरको लालझाडी गाउँपालिकामा पाँच करोडको लागतमा आधुनिक उद्यान
2021/03/11, 3:31
 
laljhadi

कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खड घाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो ।

उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर०तयार भइसकेको लालझाडी गाउँपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । 

यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछन् ।उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेको छ । 

उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल रहनेछन् । यसैगरी विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढंगले सजाउने काम गरिने गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए ।

उनका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्ती समेत जडान गरिनेछ । उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिनेछ ।  उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० विगाहा क्षेत्रफलमा निर्माण हुनेछ ।