डोटीमा नेकपा एमालेका दुई कार्यालय
2021/03/11, 3:41
 
rajniti

डोटीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का दुईवटा छुट्टाछुट्टै कार्यालय स्थापना भएका छन् । मंगलबार एउटा कार्यालय उद्घाटन भएको छ भने बुधबार अर्को भएको छ ।

२०६९ सालमा भएको एमालेको जिल्ला अधिवेसनबाट अध्यक्ष भएका चक्र मल्लको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को साइन बोर्ड लाउने काम भएको थियो । मल्ल एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपाका समेत अध्यक्ष थिए । उनी गत पुस ५ गतेको संसद विघटनपछि प्रचण्ड(नेपाल खेमामा उभिएका थिए ।

सिलगढीमा रहेको उक्त भवनमा तत्कालिन एमाले पार्टी छँदा समेत कार्यालय रहेको थियो भने एमाले माओवादी एकतापछि बनेको नेकपा डोटीको कार्यालय समेत सोही भवनमा रहेको थियो । सर्वोच्च अदालतले गरेको फैसला अनुसार नेकपा ऋषि कट्टेलको रहेको र एमाले र माओवादी केन्द्र पूर्ववत रुपमै रहेकाले एमाले पार्टीको निर्देशन अनुसार बोर्ड परिवर्तन गरिएको मल्लले बताए।

तर बुधबार भने एमाले पार्टीकै नामबाट अर्को कार्यालय उद्घाटन भएको छ । सिलगढीमै रहेको तत्कालिन एमाले पार्टीको नाममा रहेको जग्गामा निर्मित पुष्पलाल स्मृति भवनको उद्घाटन तथा एमालेको पार्टी कार्यालय स्थापना गरिएको छ ।

ओली गुटले उक्त कार्यालयको उद्घाटन गरेको हो । उक्त कार्यालयको उद्घाटन संविधानसभा सदस्य गौरी ओलीले गरेकी छन् । योसँगै डोटीमा नेकपा एमालेका दुई वटा कार्यालय स्थापना भएका छन् ।

बुधबार उद्घाटन भएको एमालेको कार्यालय रामबहादुर ऐर नेतृत्वमा संचालन हुने बताइएको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका ऐर तत्कालिन एमालेका जिल्ला सचिव थिए भने पुस ५ गतेको संसद विघटनपछि ओली खेमाका नेकपाका जिल्ला संयोजक तोकिएका थिए । जिल्लामा छुट्टाछुट्टै दुईवटा कार्यालय स्थापना भएपछि एमाले पार्टीमा विवाद देखिने आँकलन गरिएको छ ।

डोटीमा माओवादी केन्द्रको पनि कार्यालय

डोटीमा नेकपा माओवादी केन्द्रले पनि कार्यालय स्थापना गरेको छ । बुधबार सिलगढी मल्लो बजारमा रहेको एक निजी घरमा कार्यालय स्थापना गरिएको सो पार्टीका युवा नेता भरत बोहराले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रममा नेकपा एमाले र माओवादी केन्द्रवीचको एकतापछि नेकपाले आधिकारिकता नपाएपछि दुवै पार्टीले पुनः पुरानै पार्टी ब्युँताउन थालेका छन्।माओवादी केन्द्रका नेता एवं बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिला नेतृत्वको टीमले कार्यालय स्थापना गरेको हो ।