डडेल्धुराका श्यामले श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन गरेपछि...
2021/03/21, 1:19
 
faf

धनगढी : डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेको आरोप लागेको हो । डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार श्यामले काठ चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

‘शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे आँफैले फोन गरेका थिए,’ चन्दले भने, ‘श्रीमतीको हत्या आरोपमा साउँदलाई शनिबार राति नै पक्राउ गरिएको छ ।’ श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए । 

प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् । मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ ।