बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।
उनका अनुसार गोली प्रहारबाट दुई जना घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाईएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।
सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन् । उनीहरुलाई तितरबितर बनाउन गोली हवाई फाइर समेत थियो ।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।