भारतमा कोरोना संक्रमण बढेसँगै नेपालका सीमावर्ती क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । कञ्चनपुरमा गएरातिबाट लागु हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाल सरकार र प्रदेश स्वास्थ्य निर्देशनालयबाट जारी निर्देशनका आधारमा जिल्लामा तोकिए बमोजिमका केही कार्य गर्न ÷ गराउन निषेध गरिएको बताए ।
उनका अनुसार गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ । यी बाहेकका नाका र विन्दुबाट आवतजावत पूर्णरूपमा बन्द हुने भएको छ ।
यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ । निषेधाज्ञामा होली लगायत कुनै मेला, पर्व, जात्रा, महोत्सव, भीडभाड वा जुलुस गर्न पाइने छैन।
यसैबीच नेपालमा पहिलो पटक लक डाउन सुरु भएको आज एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेबाट लक डाउन सुरु भएको थियो । करिब ५ महिना चलेको लकडाउन र निषेधाज्ञाले नेपालको अर्थव्यवस्था ऋणात्मक बनाएको छ ।