कोरोनाको दोस्रो लहर: भारतबाट फर्किन थाले नेपाली
2021/03/24, 9:14
 
corona

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै रोजगारीका लागि भारत गएका नेपाली फर्किन थालेका छन्। केही दिनदेखि सीमा नाकामा स्वदेश फर्किने मजदुरको लर्को लागेको छ।

केही दिनदेखि भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। मुम्बई, दिल्ली, पन्जाबलगायतका शहरमा संक्रमण फैलिँदै गएको छ। राजस्थानका केही शहरमा रात्रिकालीन कर्फ्यू लाग्न थालेको छ।

जसले गर्दा मजदुरीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका हुन्। पश्चिम नेपालका सीमा नाकामा स्वदेश फर्किनेको घुइचो लागेको छ।

बुधबार मात्रै कैलाली र कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट सयौँ नेपाली आएका छन्। त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बताए।

दुवै नाकाबाट स्वदेश फर्किनेहरुको दुई सातादेखि प्रहरीले तथ्यांक राख्न थालेको छ। दुई नाकाबाट गत १० दिनमा सात हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको उनले बताए।

भारतबाट फर्किनेको घुइचो लाग्न थालेपछि सतर्कता अपनाउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पत्राचार गरेको छ।

स्वास्थ्य निर्देशनालयले सबैको एन्टिेजन विधिबाट कोरोना परीक्षण गर्न निर्देशन दिएको छ।

सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सबै नाकामा कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको बताए। उनले सुदूरपश्चिमका सबै नाकामा हेल्थ डेस्क राखेर परीक्षण थालिएको बताए।

भारतबाट आएका दुई जनाका कोरोना पोजिटिभ देखिएको छ। कैलालीमा एन्टिजेन परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।