बैतडीमा संस्थागत सुत्केरी हुनेको दर बढ्दै
2021/03/24, 9:17
 
star city

बैतडीमा संस्थागत सुत्केरीको दर बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीले दिएको तथ्याङक अनुसार पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्दै गएको हो। 

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङक अनुसार २०७५/७६ मा १ हजार ९ सय ८, ७६/७७ मा १ हजार १ सय १४ र ७७/७८ को अहिलेसम्म २ हजार  ३ सय ४५ जना महिला सुरक्षित रुपले स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्।

विगत र अहिले ७७/७८ को ६ महिनाको तथ्याङक हेर्दा संस्थागत सुत्केरीको दर बढ्दै गएको भन्न सकिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले पे्ररित गर्न थालेपछि पछिल्लो समय संस्थागत सुत्केरीदर बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए। बढ्दो चेतनाका साथै पाइकपर्ने ठाउँमा बर्थिङ सेन्टर र  स्वास्थ्य संस्था स्थापना भएका कारण सुरक्षित सुत्केरी हुनेको दर बढ्दै गएको उनले बताए ।

यस्तै स्थानीय तहमा सञ्चालित उपप्रमुख र उपाध्यक्षको कोसेली कार्यक्रमले पनि संस्थागत सुत्केरी दरमा वृद्धि हुँदै गएको उनको भनाई  छ। स्थानीय सरकारहरुले पनि संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम चलाइरहेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले कोसेली वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेलाई  भत्तासहित न्यानो कपडासमेत वितरण गर्नेुले पनि सुरक्षित सुत्केरी हुनेको संख्या बढेको बताइएको छ। 

स्वास्थ्यकर्मीहरुले जोखिमका बारेमा बेलाबेला दिने जानकारीले पनि महिलाहरु सचेत हुँदै गएका महिला स्वास्थ्य स्वंयसेविकाहरुको भनाई छ। चेतनाको विकासले अहिले महिलाहरु सुरक्षित प्रसुति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमै गएर तालिमप्राप्त दक्ष प्रसुतिकर्मीबाट प्रसुति सेवा लिन थालेका सुर्नया ३ की महिला स्वास्थ्य स्वंयसेविका तारा भट्टले बताइन।

जिल्लाको दुर्गम गाउँका नागरिकहरुमा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको छ। पहिले बैतडीको ग्रामीण भेगहरुमा सुत्केरी बेथा लागे धामीझाँक्रि सोध्ने गर्दथे तर अहिले अस्पताल र स्वास्थ्य संस्थामा जाने गर्दछन्।

संस्थागत सुत्केरी दर बढ्दै गएपछि बाल र मातृ मृत्युदर घट्ने विश्वास गरिएको छ।