कञ्चनपुरको प्यारा ताल भारतले हडप्यो
2021/03/26, 4:10
 
taal

जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको प्यारा ताललाई भारतीय पक्षले आफ्नो दावी गरेको छ । डेढ दशक अघिसम्म जिल्ला विकास मार्फत नेपालीहरुले भोगचलन गर्दै आएको प्यारातालमा पछिल्लो समय भारतीय पक्षले हस्तक्षेप गर्न थालेको हो ।

नेपाल–भारत सीमास्तम्भ १९४ र १९५ को बीचमा पर्ने प्यारा ताललाई पछिल्लो समय भारतीय पक्षले आफ्नो भनेर दावी गर्दै आएको छ।कञ्चनपुरको पुर्नवास नगरपालिका– ९ स्थित यो ताल भारतको दूधुवा नेशनलपार्कसँग जोडिएको छ ।

२०६३ सालसम्म जिल्ला विकास समितिमार्फत नेपालीहरुले भोगचलन गर्दै आएको ताल दुधुवा नेसनलपार्कका जनावरलाई पानीको व्यवस्थापनमा सहज हुने भएकाले भारतीय पक्षले आफ्नो कब्जामा लिएको हो ।

५ किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको यस तालमा केही वर्ष यता भारतीय पक्षले नेपालीलाई माछा मार्नसमेत रोक लगाएको छ ।त्यतिमात्रै होइन, भारतीय पक्षले ताल क्षेत्रमा संरक्षण तथा अन्य भौतिक काम गर्न हस्तक्षेप गरेको पुनर्वास नगरपालिका– ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए ।  

भारतीय पक्षले प्यारा तालभन्दा झण्डै ५० मिटर यता नेपालतर्फको भूभागसमेत आफ्नो दावी गर्दै आएको छ ।जसले गर्दा पुनर्वास नगरपालिका–९, बीचफाँटाका कृषकले लगाएको बालीसमेत ढुक्क भएर भित्र्याउन सक्दैनन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आएर गोली नै चलाउने हो कि भन्ने स्थानीयमा त्रास छ ।

ताल क्षेत्रभन्दा झण्डै पाँच सय मिटर पश्चिम अर्थात भारततर्फ नेपाल–भारत सीमास्तम्भ १९५ ढलेको अवस्थामा छ ।  तर भारतीय पक्षले यो सीमास्तम्भ नक्कली भएको बताउँदै आएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीलाई सीमास्तम्भमा जान रोक मात्रै लगाएको छैन, प्याराताल आसपासको क्षेत्रमा समेत गस्ती तथा निगरानी बढाएको छ ।

२०६१-०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण यो ताल भारतको कब्जामा पुगेको देखिन्छ । दुवै देशबाट खटिएको संयुक्त सर्भे टोलीले स्थलगत अध्ययन विना सीमा निर्धारण गरेकाले सीमा विवाद अझ उत्कर्षमा पुगको हो ।