कानुनी राजमा विश्वास गर्ने म कसरी रेशम चौधरीलाई रिहा गर्न सक्छु ?: प्रधानमन्त्री ओली
2021/03/27, 9:58
 
rajniti

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रेशम चौधरीलाई रिहा गर्न नसक्ने स्पष्ट पारेका छन् । उनले आफू कानुनी राजमा विश्वास गर्ने मान्छे भएकाले अदालतले जे गर्छ त्यही अनुसार हुने बताए ।

ओलीले रेशम चौधरी छुट्छन् कि छुट्दैनन् भन्ने विषय आफ्नो नभएर अदालतको भएको बताएका हुन् ।  म कसरी भन्नु सक्छु र रेशम चौधरीलाई रिहा गर्छु भनेर ? मुद्दा अदालतमा छ । म कसरी रिहा गर्न सक्छु’, उनले भने, ‘म कानुनी राजमा विश्वास गर्छु । रेशम चौधरी छुट्नु हुन्छ कि हुँदैन मेरो कुरा होइन, अदालतको विषय हो । उनी दोषी छन् कि छैनन् अदालतले छानबिन गर्ने कुरा हो । म न्यायाधीश होइन । मन्त्रिपरिषद्ले फैसला गर्दैन । मन्त्रिपरिषद्ले गरेको फैसला पनि त अदालतले उल्टाइदिने रैछ नि ।’

मन्त्रिपरिषद्ले गर्ने निर्णयका आधारमा राष्ट्रपतिबाट क्षमा गर्न सक्ने व्यवस्था भएपनि उनले मन्त्रिपरिषद्ले  रेशम चौधरीको विषयमा फैसला नगर्ने र अदालतले भनेअनुसार नै हुने स्पष्ट पारे ।

बरु ओलीले आफू प्रधानमन्त्री भएमा रेशम चौधरीलाई रिहा गर्छु भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको भन्दै कटाक्ष गरे ।