आफ्नै खेतमा खनजोत गर्दा भारतीय पक्षबाट अवरोध
2020/06/04, 12:47
 
sima

कञ्चनपुरको महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन (मगर) बर्खेखेतीका लागि गत साता खेततिर हिँडे । सीमा क्षेत्रमा लक्ष्मणको खेत छ । रोपाइँको तयारी गर्न ट्रयाक्टर लिएर खोत्ने गएका उनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को फौज आएर खनजोत गर्न दिएन । ‘म खेत जोत्दै थिएँ, उताबाट एसएसबीको टिम आएर रोकिदिए,’  उनले भने, ‘उनीहरूले विवादित भूमि भन्दै खेतबाट ट्रयाक्टर हटाउन दबाब दिए ।’  एसएसबीले रोकेपछि ट्रयाक्टर लिएर आफू फर्किएको उनले बताए । सीमा पिलर १७ नजिक लक्ष्मणको अढाइ कट्ठा जमिनमा एसएसबीले खेतपाती एवं खनजोत गर्न दिएका छैनन् । 

गत वर्ष पुनले खेतमा लगाएको मसुरो भारतीय नागरिकले नष्ट गरिदिएका थिए । तीन वर्षअघि पनि एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो । ‘हामी यहाँ वि.सं. २०२४ सालदेखि बसेका हौँ,’  उनले भने, ‘बाबु सेना थिए, उनलाई डेढ बिघा जमिन मिलेको थियो, अहिले अनावश्यक रूपमा भारतीय पक्षबाट अवरोध भइरहेको छ ।’
जनखोतमा अवरोध गरेका एसएसबीले माथिको विषय भन्दै रोकेको लक्ष्मणले बताए । बोर्डर आउट पोस्ट (बिओपी) दोधाराले भारतीय पक्षबाट नेपालीको खेतमा अवरोधबारे माथिल्लो निकायलाई जानकारी गराइसकेको जनाएको छ । स्थानीयले भारतीय विस्तारवाद र हेपाह प्रवृत्तिको कारण आफ्नै खेतमा खनजोत गर्दासमेत अवरोध भएको गुनासो पोखेका छन् । 

सीमा क्षेत्रमा भारतीय पक्षबाटै अनावश्यक विवाद, अवरोध एवं रोकावटले सीमा क्षेत्रका नागरिकले हैरानी खेप्दै आएका छन्। स्थानीयले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गरेका छन् । स्थानीय मानबहादुर गुरुङले पटक(पटक भारत भारतको हेपाहा, मिचाहा प्रवृत्तिबाट हैरान भएकाले सरकारलाई सीमा क्षेत्रमा ठूलो पर्खाल एवं काँडेतार लगाउन आवश्यक रहेको बताए । उनका अनुसार १७ नम्बर पिलर आफ्नोतिर पार्ने मनसायले भारतीय पक्षबाट खाल्टो खन्ने काम भएको थियो । स्थानीयले त्यसको विरोध गरेका थिए । त्यसकै बदलामा भारतीय पक्षले नेपालीका जमिन खनजोतमा अवरोध पुरÞ्याइरहेको छ । 

महाकाली नगरपालिकाले भने दुवै पक्ष बसेर विवाद टुंगो लगाउनुपर्ने जनाएको छ । महाकाली नगरका प्रवक्ता दिलबहादुर सिजालीले पटक–पटक आउने विवाद दुवै पक्ष बसेर समाधान खोज्नुको विकल्प नभएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सुन्दनगरमा आएको विवाद नेपालतर्फको सशस्त्र प्रहरीलाई उता समन्वय गरेर समाधान गर्न निर्देशन दिएको खबर नयाँ पत्रिकामा खबर छ ।