पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ।
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७ सय र भारतीय १ सय ९७ मध्ये ६ सय २३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।
यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८ सय २३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ। कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ।
दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७ सयदेखि १ हजारको हाराहारीमा रहँदै आएको छ। भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन्। रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ।
शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३ सय ५ नेपाली र १ सय २५ भारतीय भारततर्फ गएका छन्। सीमानाका गड्डाचौकी भएर ३ सय भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १ सय ५० रहेको छ।