भारतबाट फर्किन अधिकांशको परीक्षण नै हुँदैन, संक्रमण देखिएका पाँच जना भागे
2021/04/03, 10:04
 
sima

भारतबाट त्रिनगर नाका हुँदै स्वदेश फर्किएका अधिकांशलाई कोरोना परीक्षण नगरीकनै घर पठाउने गरिएको छ । पोजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर जाने गरेका छन । 

संक्रमण देखिएकाहरू भागेर पनि जाने गरेका छन । बिहीबार पोजिटिभ देखिएका १६ मध्ये पाँच जना भागेका छन । ‘एम्बुलेन्समा राखेर आइसोलेसन पठाउने भनी रोकेर राखेका थियौँ । तर, पजिटिभ देखिएकामध्ये पाँच जना भिडभाडमा कतिवेला कहाँ भागे पत्तो नै पाएनौँ,’ सहजकर्ताका रूपमा नाकामा खटिएका रमित विकले भने, ‘अन्य ११ जनालाई भने आइसोलेसनमा पठाएका छौँ ।’ 

प्रहरीको तथ्यांक अनुसार ९ चैतयता मात्रै त्रिनगर नाकाबाट चार हजार पाँच सय ६९ जना भित्रिएका छन । तीमध्ये एक हजार दुई सय ५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

नाकाको हेल्थ डेस्कमा जनशक्ति अभाव छ । तीन दिनअघिसम्म हेल्थ डेस्कमा चार स्वास्थ्यकर्मी मात्रै थिए, अहिले चार जना थपेर आठ जना खटिएका छन । सुरक्षाकर्मीले नाकामा हुने भिड व्यवस्थापनमा सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ ।