सुदूरपश्चिममा भित्रियो ‘नयाँ प्रकार’को कोरोना, भारतबाट फर्किएका तीन व्यक्तिमा ‘भेरियन्ट’ कोरोना संक्रमण
2021/04/03, 7:41
 
corona

भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

२ हप्ताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

‘शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,’ उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ ।’

भेरियन्ट कोरोनाको संक्रमण भएका व्यक्ति घरमै आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका १ सहित डोटीको जोरायल गाउँपालिकाका १ र डडेल्धुराको परशुराम नगरपालिकाका १ जना गरी ३ जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ ।

भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेसनमा बसेका छन् ।