छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले गत ६ चैतदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर, अहिले पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेको छ ।
बाँकी नाकामा एन्टिजेन परीक्षण नै गरिएको छैन । त्यसकारण भारतबाट फर्किएका संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान मन्त्रालयको छ । कोरोनाको लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिमका नाकाबाट फर्किएकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ ।
त्रिनगर नाकाबाट भित्रिएका ५८ जना र गड्डाचौकी नाकाबाट भित्रिएका पाँच जनामा संक्रमण देखिएको छ । चिकित्सकहरूले कोरोना संक्रमणको दोस्रो लहर पनि सुदूरपश्चिमबाटै सुरु हुने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अघिल्लो पटक पनि सुदूरपश्चिममै बढी जोखिम देखिएको थियो । ‘भारतमा अहिले कोरोना संक्रमण भयावह ढंगले बढिरहेकाले नाकाहरू व्यवस्थित गर्न जरुरी छ । भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण हुनुपर्छ, तर अहिले त्यो गर्न सकिएको छैन,’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘हामीले सुरुमा नाकामा एन्टिजेन परीक्षण गर्दा पजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर गए । यसले स्वाभाविक रूपमा जोखिम बढाएको छ । त्यसैले अहिले पोजिटिभ देखिएकालाई धनगढी र महेन्द्रगरका आइसोलेनमा राख्ने गरिएको छ ।’
सुदूरपश्चिमका नाकाबाट फर्किने र संक्रमित हुनेहरू धेरैजसो कैलालीको गोदावरी, लम्कीचुहा र धनगढी, कञ्चनपुरको गुलरिया, पुनर्वास र बेलौरी, अछामको मंगलसेन र साँफेबगर, डडेल्धुराको भागेश्वरी, डोटीको दिपालय, सिलगढी, पञ्चदेव ललगायतका छन । उनीहरू भारतको सुरत, मुम्बई, पन्जाब, पुणे, उत्तरप्रदेश, बाटिकालगायतका ठाउँबाट फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । भारतमा दोस्रो चरणमा नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि त्यसको उच्च जोखिम रहेको भन्दै चिकित्सहरूले सचेत हुन आग्रह गरेका छन । यद्यपि, भारतले युके भेरियन्ट देखिएको विषयमा औपचारिक रूपमा केही बोलेको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी गुड्डाचौकी नाकाबाट ६ हजार ३९ जना प्रवेश गरेका छन । उनीहरूमध्ये तीन सय ९० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्रिनगर नाकाबाट दुई हजार पाँच सय सात जना प्रवेश गरेका छन । त्रिनगरबाट प्रवेश गरेका एक हजार एक सय ८४ जनाको परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको छ ।
पोजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर गएका छन्ः डा. गुणराज अवस्थी प्रदेश स्वास्थ्य निर्देशक, सुदूरपश्चिम
भारतमा अहिले कोरोना संक्रमण भयावह ढंगले बढिरहेकाले नाकाहरू व्यवस्थित गर्न जरुरी छ । भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण हुनुपर्छ । तर, अहिले त्यो सकिएको छैन । हामीले सुरुमा नाकामा एन्टिजेन परीक्षण गर्दा पजिटिभ देखिएकाहरू पनि सार्वजनिक यातायात चढेर घर गए । यसले स्वाभाविक रूपमा जोखिम बढाएको छ । त्यसैले अहिले पजिटिभ देखिएकालाई धनगढी र महेन्द्रनगरका आइसोलेसनमा राख्ने गरिएको छ । नाकामा सक्दो परीक्षण गरिरहेका छौँ ।
बिहान सीमापारि गएर बेलुकी फर्कनेको भन्दा लामो समय बसेर आएकाको परीक्षण गरिरहेका छौँ । कतिपय छुटेका पनि होलान् । नाकाबाट भित्रिनेले पनि कहाँबाट आएको भनेर सही भनिदिनुपर्छ, सबैले त्यो बताउने गरेका छैनन् । नाकामा सामाजिक दूरी कायम गर्न भने निकै गाह्रो छ ।
भारतबाट फर्किन अधिकांशको परीक्षण नै हुँदैन, संक्रमण देखिएका पाँच जना भागे
भारतबाट त्रिनगर नाका हुँदै स्वदेश फर्किएका अधिकांशलाई कोरोना परीक्षण नगरीकनै घर पठाउने गरिएको छ । पोजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर जाने गरेका छन ।
संक्रमण देखिएकाहरू भागेर पनि जाने गरेका छन । बिहीबार पोजिटिभ देखिएका १६ मध्ये पाँच जना भागेका छन । ‘एम्बुलेन्समा राखेर आइसोलेसन पठाउने भनी रोकेर राखेका थियौँ । तर, पजिटिभ देखिएकामध्ये पाँच जना भिडभाडमा कतिवेला कहाँ भागे पत्तो नै पाएनौँ,’ सहजकर्ताका रूपमा नाकामा खटिएका रमित विकले भने, ‘अन्य ११ जनालाई भने आइसोलेसनमा पठाएका छौँ ।’
प्रहरीको तथ्यांक अनुसार ९ चैतयता मात्रै त्रिनगर नाकाबाट चार हजार पाँच सय ६९ जना भित्रिएका छन । तीमध्ये एक हजार दुई सय ५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । नाकाको हेल्थ डेस्कमा जनशक्ति अभाव छ ।
तीन दिनअघिसम्म हेल्थ डेस्कमा चार स्वास्थ्यकर्मी मात्रै थिए, अहिले चार जना थपेर आठ जना खटिएका छन । सुरक्षाकर्मीले नाकामा हुने भिड व्यवस्थापनमा सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ ।