कैलालीका जंगलमा काठहरू कुहिन थालेको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कटान गरिएको काठ जंगलमै कुहिन थालेको हो।
कैलाली जिल्लामा वैज्ञानिक वन लागु भएका ९२ सामुदायिक वनमा तीन लाख भन्दा बढी क्युफिट सालको काठ सरकारी प्रतिबन्धका कारण कुहिन थालेको वन डिभिजन कार्यालयले जनाएको छ।
सरकारले वैज्ञानिक वनका नाममा अनियमितता र फँडानी बढेको भन्दै गएको जेठ १५ देखि प्रतिबन्ध लगाएको थियो। जसकारण कैलालीमा ठूलो परिमाणमा काठ कटान गरी वनमै अलपत्र अवस्थामै छोडिएको छ।
जंगलमा अलपत्र अबस्थामा रहेको काठ उपभोक्ता सम्म पुग्न नपाउँदा समस्या भएको कैलालीको फुलवारीका धर्मानन्द जोशीले बताए।
उनले भने ‘उपभोक्ताले घर बनाउनका लागि समेत काठ पाएका छैनन्। वनमा कटान भएको काठ पनि त्यत्तिकै खेर गइरहेको छ। सरकारले सुरुमा वैज्ञानिक वनका नाममा कटान आदेश दिने र पछि काटिएको काठ बिक्री वितरण गर्न नदिएर दोहोर चरित्र देखाएको छ।’
सरकारले काठ बिक्री वितरण गर्न दिनुपर्ने सामुदायिक वन उपभोक्ता समितिहरूको माग रहेको छ। कैलालीकै रामजानकी सामुदायिक वनका अध्यक्ष जयानन्द भट्टले वनमा कटान गरीएको काठको व्यवस्थापनमा सरकार जिम्मेवार बन्नु पर्ने बताए।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरे पनि कटान भएको काठका विषयमा सरकारले कुनै निर्णय गर्न सकेको छैन। कटान भएको काठका विषयमा कुनै निर्णय गर्न नसक्दा वनमा काटिएको काठ चोरी हुने र हैसियत बिग्रिने समस्या रहेको सव डिभिजन वन कार्यालय धनगढीका अधिकृत निरञ्जन कडालले जानकारी दिए।
कैलाली, कञ्चनपुरका दुईवटा साझेदारी वनसहित एक सय २६ सामुदायिक वनमा वैज्ञानिक वन लागू भएकोमा गत वर्ष मात्र साढे तीन लाखदेखि चार लाख क्युफिट काठ कटान भएको अनुमान छ। अघिल्लो वर्षको काठसमेत वनमा अलपत्र हुदा उपभोक्ता भने मारमा परेका छन्।