भीम रावलद्वारा सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्ने तयारी
2021/04/06, 11:34
 
rajniti

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्षले समानान्तर कमिटी बनाउने तयारी थालेको छ । हिजो (सोमवार)देखि धनगढीमा शुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी घोषणा गर्ने तय गरेको हो ।

माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमवारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक शुरु भएको छ । एमालेबाट निलम्बित नेता भीम रावलको नेतृत्वमा सोमवार बैठक नसकिएपछि आज (मंगलवार) पनि जारी रहने स्रोतको दावी छ। मंगलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए ।

‘सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्किन भनेपछि हामीले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी गरेका छौँ’ उनले भने ‘त्यो बेलामा रहनु भएका पदाधिकारीहरू अहिले नभए नयाँले जिम्मेवारी पाउनु हुन्छ ।’  ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे ।

केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरुले जिम्मेवारी पाएका थिए । जिल्लामा जिम्मेवारीविहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताए ।

नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली पक्षले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका थिए ।

नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो । एमाले ब्युँतिएपछि भट्ट नै इन्चार्ज कायम छन् ।

प्रदेश सभाका २५ मध्ये १६ प्रदेश सांसद रावलको बैठकमा उपस्थित

बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए ।

तामाङले जिल्ला बाहिर रहेकोले नआएको र आउन नसकेको विषयमा जानकारी गराएको समेत उनले बताए ।  बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा,माया तामाङ बोहरा र पठानसिंह बोहरा उपस्थित थिएनन् ।

प्रतिनिधिसभा तर्फका सांसद भने माधव नेपाल पक्षमा भीम रावल, झपट रावल, दिपकप्रकाश भट्ट, निरा जैरु र बिना बुढाथोकी मगर मात्र छन् ।