भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि घर फर्कनेको लर्को
2021/04/06, 11:44
 
corona

भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ ।  सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन् ।

नेपाल भित्रिरहेका मध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ ।  दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरशाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ ।

गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो ।

भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपाली सीमानजिकका भारतीय बजारका क्वारेन्टिनमा करिब २ महिना बढीसम्म बसेका थिए । त्यसबेला भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो ।

मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाउँदा र परिवारमा बालबच्चाको पेट पाल्नै समस्या भएपछि भदौदेखि पुनः भारततिरै लागेका थिए।  अहिले भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रूपमा संक्रमण फैलिएपछि पुनः नेपाल फर्कन थालेका छन् ।