सुदूरपश्चिममा कोरोनाको उच्च जोखिमः सघन उपचार कक्षको अभाव 
प्रदेशमा दोस्रो लहरमा चार सय ९४ जनामा संक्रमण पुष्टि
2021/04/12, 10:58
 
corona

कोरोना भाइरस कोभिड– १९ को दोस्रो लहरको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन । 

चिकित्सकले कोरोनाको दोस्रो लहर निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन । गत ८ चैतदेखि कञ्चनपुरमा कोरोना पोजिटिभ हुने क्रम बढ्दो छ ।

भारतबाट आएकामा एन्टिजेन परीक्षण गर्दा सात नाका मध्ये कञ्चनपुरमा बढी संक्रमित भेटिएका छन । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पनि सुदूरपश्चिम उच्च जोखिममा रहेको देखाएको छ ।

तर, प्रदेशमा आवश्यक पर्ने आइसियू र भेन्टिलेटरको व्यवस्थापन भएको छैन । पहिलो लहरमा पनि सुदूरपश्चिममा सघन उपचार कक्षको अभाव थियो ।

आईतबार भारतबाट नेपाल प्रवेश गरेकामध्ये ६४ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरू सबै कञ्चनपुरमा पुष्टि भएका हुन् ।


स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म चार सय ९४ जना संक्रमित पुष्टि भएका छन ।

संक्रमितमध्ये ८७ जना अस्पतालमा छन । तर, प्रदेशभरमा आइसियू २९ र भेन्टिलेटर २५ मात्रै छन् ।