दार्चुलाको  शिखर धुरामा आगलागी
2021/04/12, 10:59
 
aago

दार्चुलाको विभिन्न ठाउँमा एक महिना अघि देखि लागेको आगोले जंगलको विनास हुँदै गएको छ । आगलागीका कारण जंगली जनावरहरु सखाप हुनुका साथै पुरातात्त्विक बस्तु जलेर नष्ट भएको छ ।

जिल्लाकै मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिकाका विभिन्न जंगलहरुमा आगलागी भएको हो । 

शैल्यशिख नगरपालिका र मालिकार्जुन गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय दृष्टिले चिरपरिचित राष्टकै सातौ धाम मालिकार्जुन धामको रैथान शिखर धुरामा आगलागी हुँदा परापुर्ब कालदेखि भक्तजनहरुले आफ्नो श्रद्धाअनुरुप चढाई आएका नेजा ध्वजा मुर्ती, भेटी लगायतका विभिन्न पुरातात्त्विक बस्तु जलेर नष्ट भएको शैल्यशिखर नगरपालिकाका स्थानीय कृष्ण सिंह रावलले मध्यान्हलाई जानकारी दिए ।

उनका अनुसार जंगलमा रहेका विभिन्न जनावरहरु जलेर समेत नष्ट भएको र सो विषयमा सरकारले कुनै पनि चासो नदेखाएको गुनासो गरे । त्यस्तै विभिन्न ठाँउमा आगलागीका कारण जंगलमा बस्ने जनावर पुरातात्त्विक बस्तुहरु लोप हुनुका साथै पानीका मुहानहरु पनि सुक्दै गएको अर्का स्थानीय बिक्रम सिंह धामीले दुखेसो गरे । 

विगत ७ महिना अघिदेखि पानी नपरेर खडेरीका कारण जंगलमा गाई बस्तु चराउने गोठालाहरुले चुरोट, बिँडि खाएर जथाभावी आगो फाल्नाले र धेरै जसो खर फगलाहरुमा पानी परेपछि नयाँ घाँस उम्रने भएका कारणले पनि स्थानीयहरुले आगो लगाउने गरेको इलाका प्रहरी कार्यालय गोकुलेका ईन्चार्ज खगेन्द्र साउदले बताए ।

उनका अनुसार प्रहरीले जथाभावी जंगलमा आगो लगाउनेहरुलाई खोजी गरी कारबाही समेत गरिने र धेरै जसो स्थानीयहरुसँग कार्यक्रम गरी आगो लाग्न नदिने र नियन्त्रण कसरी लिने भन्ने विषयमा छलफल समेत गरेको बताए । प्रहरीले धेरै जसो ठाउँमा आगो नियन्त्रण गरेको पनि उनले बताए ।

जंगलमा आगलागीले विनाश निम्त्याएको बेला शैल्यशिखर नगरपालिक ५ बरमुडेका करिब १२र१५ जना युवाहरुले २ दिन देखिको आगो नियन्त्रणमा अथाह प्रयास गरेको भए पनि आफूहरु आगोलाई नियन्त्रणमा लिन असक्षम भएको कृष्ण रावलले बताए ।

रावलका अनुसार एक दुई ठाउँमा आगो नियन्त्रणमा आए पनि  शिखर धुराको गुठीमा रहेका सामग्रीहरु  बचाउन आफु हरु असमर्थ रहेको भन्दै दुस्ख ब्यक्त गरे ।